यतिखेर नेपाली युवा हरेक दिनजस्तो हजारौंको संख्यामा विदेश पलायन भइरहेका छन् । तिनका पलायनसित जोडिएका मुख्य विषय भने वैदेशिक रोजगारी, उच्च शिक्षालगायत पठनपाठन नै हुन् । वैदेशिक रोजगारीमा जानेहरूबाट त जसोतसो केही कमाइ विप्रेषणका माध्यमले स्वदेश भित्रिएको पाइन्छ । तर, पढ्न जानेहरूका हकमा भने तिनले त्यस्तो कमाइ बिरलै स्वदेश पठाएको देखिन्छ । उल्टै ती र तिनका डिपेण्डेण्डस्हरू जसरी हुन्छ उतै बस्ने परिपञ्चमा लागेको पाइन्छ ।
यस्तै हो भने कुनै दिन नेपालमा युवा नै नहुने स्थिति नआउला भन्न सकिँदैन । अर्कातिर, अधिकांश मातापिताको मनोविज्ञान यस्तो भइसकेको छ कि आफ्ना सन्तान भरसक विदेशतिरै बसून्, तिनको पीआर र ग्रीन कार्ड होस् र सबै उतैतिर जान पाइयोस् भन्नेमै सीमित भएको पनि भेटिन्छ । यो अहिले आम नेपाली परिवारको मनोविज्ञान नै भइसकेको छ । यो कवै राम्रो संकेत होइन ।
त्यसरी विदेशिनेहरू, खास गरेर पढाइका नाममा जानेहरू, फर्किने सम्भावना भने बिरलै भेटिएको छ । कामदारका रूपमा जानेहरूले पठाएकै विप्रेषणले राष्ट्रको वैदिक विनिमय सञ्चितिको भण्डारण अहिले १५ महीनासम्मको आयात धान्नसक्ने भनेर सरकारले गर्व गर्नु एक पक्ष हो । तर, यसको सूदूर भविष्यप्रति भने कुनै पनि दल र तिनका सरकारहरू चिन्तित र जिम्मेवार नहुनुचाहिँ आगतको चिन्ता बनेको छ । खोइ यसको मन्थन ?
उमेरको उत्तरार्द्धमा सन्तानको माया र स्याहार नपाउने अवस्थाका ज्येष्ठ नागरिकले कमसे कम सरकारबाट वा कुनै कल्याणकारी व्यवस्थाबाट सहजरूपले परेका बेलामा आपत्कालीन उपचार र रेखदेख पाउनसके ती धन्य हुनेछन् ।
स्वदेशमा रोजगारीको अवसर नभएपछि नागरिकमा वैदेशिक मोह हुनु अन्यथा होइन । तथापि वैदेशिक राजेगारीले ल्याएका अनेकौं विसंगतिमध्ये सामाजिक विकार यतिखेर अर्को चिन्ताको विषय भएको छ । खासगरेर, पारिवारिक विखण्डनले समाजमा यतिखेर नराम्रो संस्कार भित्त्याउन थालेको छ । यो एउटा विकृत पक्ष भयो । तर, त्योभन्दा पनि डरलाग्दो आयामप्रति हामीले ध्यान दिनसकेका छैनौं कि ? त्यो भनेको अब केही वर्षभित्र यो देश वृद्धाश्रममा पो परिणत हुने हो कि ? भन्ने खतराप्रति यो लेखक जो स्वयम् एक ज्येष्ठ नागरिक पनि हो, चिन्तित भएकाले यति लेख्ने आँट गरिएको हो । मूलत: मजस्तै ज्येष्ठ नागरिकको चिन्ताका केही कारण र अवस्थाप्रति सानो उदाहरण प्रस्तुत गर्नु यस लेखको अभीष्ट हो ।
चिन्ता नं एक : मेरा एक नजिकका आफन्तको केही वर्षअघि देहान्त हुँदा अन्तिम संस्कार गर्ने उनका दुवै छोरा विदेशमा भएका कारण मोर्चरीमा ५ दिनसम्म कुरेर बस्नुपर्यो, लासले । त्यो मोर्चरी पनि नजिकको अस्पतालमा नपाएर धेरै टाढाको अस्पतालसम्म धाउनुपर्यो । तै, जसोतसो पाइयो । ५ दिनपछि छोराहरू आएर दाह संस्कार गरे । तेह्रौं दिनको संस्कार सकिएपछि छोराहरू पुन: आआफ्ना गन्तव्य लागे । यता घरव्यवहारमा तिनलाई ध्यान जानु त कता हो कता वर्ष दिनमा सम्पन्न गर्नुपर्ने अनेकौं मृत्यु संस्कारहरू पनि सोही दिन सकिए ।
यो अचेल आम चलनजस्तै पनि हुन थालेको हो कि ? भन्ने पनि छ । तीजस्तै अनेकौं सन्तानका लागि अचेल पुख्र्यौली बिर्ताभन्दा पनि विदेशकै मोह बढी हुन थालेको आम संस्कारजस्तै भएको छ । यसरी विदेशिनेहरूका जग्गाजमीनमा अचेल खेतीपाती लाग्दैनन् । यस्ता बाँझा जमीनको उपयोगका लागि सरकारले भूमि बैंक ल्याउने भनेको पनि दशकौं (यसको चर्चा २०५८ सालदेखिकै हो) भइसक्यो, तर कुनै कायापलट भएको पाइएन । यो राष्ट्रिय चिन्ता हो कि होइन ? पाठकहरूलाई नै जिम्मा छाड्छु ।
चिन्ता नं दुई : श्रमिकका नाममा विदेश जाने युवा अनेकौं कारणबाट उतै मृत्युवरण गर्दा तिनका शव स्वदेश ल्याई सद्गत गर्न नसकिएका प्रशस्तै उदाहरण छन् । जो जसले जे जसरी ती कर्म सम्पन्न गरे पनि तिनका मातापिता, जो ज्येष्ठ नागरिक पनि होलान्, तिनका थाप्लामा ऋणको बोझ थामी नसक्नु छ । यसरी मृत्युवरण गर्नेहरूको लासको लस्कर दिनहुँजस्तो विमानस्थलको एक सामान्य दृश्य भएको छ । वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांकमा नै खुशी हुनेहरूले यो बढ्दो संवेदनात्मक राष्ट्रिय परिदृश्यप्रति चिन्तित हुने कि नहुने ? एक गम्भीर आगतले हाम्रो मनोविज्ञान क्षतविक्षत भइरहेको छ ।
चिन्ता नं तीन : बेलाबेला नेपालमा पनि ज्येष्ठ नागरिककाबारे चर्चा हुने गरेको छ । खासगरेर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक वर्षका आसपास त्यसखाले चर्चाले बाक्लैगरी स्थान पाउने गरेका छन् । सञ्चार जगत्ले पनि त्यसलाई राम्रैसित बाहिर ल्याउने गरेका छन् । तर, ती चर्चा केही दिनमै सेलाउनु सामान्य विशेषता नै भएको छ । हालै मात्र तालुकवाला मन्त्रीले छोराछोरीले कमाइको १० प्रतिशत आफ्ना मातापितालाई बुझाउनुपर्ने कानून बनाउने कुरा गरेर कतिपयलाई खुशी पारेको पनि देखियो । तर, यस कुराले भन्दा पनि वृद्ध भएका बाबुआमाको पैसाभन्दा पनि माया, स्याहारसम्भार र रेखदेखचाहिँ प्रमुख कुरा हो भन्ने यस लेखकको विचार र मान्यता रहँदै आएको छ । ज्येष्ठ नागरिक अहिले सन्तानबाट रकम कलमको आशभन्दा पनि सन्तानको आफ्नोपन, नजिकको अपेक्षा गर्छन् । त्यो पैसासित कबै तुलना हुँदैन ।
तर, यतिखेर देशमा सबै युवा रित्तिएर ज्येष्ठ नागरिकको मात्र परिवार रहेको अनुभूत हुँदै छ । यस्तो बेला सरकारले ती ज्येष्ठ नागरिक जसका कुनै सहारा छैनन्, भए पनि विदेशमा छन्, तिनलाई आपद्विपद् पर्दा तत्काल सहयोग र हेरविचार गर्ने संस्कार, प्रणाली र सोचको खाँचो छ । अहिले देशमा करीब २२ लाखको संख्यामा ज्येष्ठ नागरिक रहेको अनुमान छ (सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या नै १९.८० लाख : आर्थिक सर्वेक्षण, ०८०–८१) देखिन्छ ।
कतिपयलाई यस्तो सुरक्षा भत्ताले राहत र खुशी दिएको होला तर त्योभन्दा पनि महत्त्वको कुराचाहिँ तिनका स्याहारसुसार र बिरामी परेका बेला स्वास्थ्योपचार मुख्य कुरा हुन्छ । यस्तो बेला सरकारले (अहिले त तीन किसिमका सरकारहरू पनि छन् ) के ती ज्येष्ठ नागरिकलाई स्वाभाविक र सहजरूपमा अस्पतालसम्म पुर्याउने र तिनको उपचारमा लाग्ने खर्च नि:शुल्क गर्ने नीति, प्रणाली र सामाजिक कल्याणकारी व्यवस्था ल्याउन सकोइन ? यो गम्भीर तर अनिवार्य भविष्यको चिन्ता लिनुपर्ने समय भने आएको छ ।
हालै मात्र तालुकवाला मन्त्रीले छोराछोरीले कमाइको १० प्रतिशत आफ्ना मातापितालाई बुझाउनुपर्ने कानून बनाउने कुरा गरेर कतिपयलाई खुशी पारेको पनि देखियो । तर, वृद्ध भएका बाबुआमाका लागि पैसाभन्दा पनि माया, स्याहारसम्भार र रेखदेखचाहिँ प्रमुख कुरा हो ।
यसै प्रसंगमा, म स्वयम्लाई हालै परेको एक घटना यहाँ राख्नु प्रासंगिक ठान्छु । केही दिन पहिले श्रीमती अचानक गम्भीर बिरामी परिन् । हामी दुई जना मात्र परिवारमा रहन थालेको पनि २४ वर्ष भएछ । तर, यसअघि कहिल्यै परिवार र सन्तानको रिक्तता महसूस भएको थिएन । सम्भवत: त्यो बुढ्यौली आइनसकेकाले पनि थियो कि ? कहिले पढाइ त कहिले रोजगारीका कारण छोराहरू विदेश बस्न थालेको पनि निकै वर्ष भएछ । कान्छो छोराचाहिँ १० वर्षपछि स्वदेश फर्किए पनि आफ्नै पेशाका कारण घरको रेखदेखमा उसले समय दिन भने सक्दैन । बाहिरबाटै परिआएका बखत मात्र हेर्ने हो ।
विदेशबाट फर्किएकामा दु:खभन्दा पनि नेपालै बस्नेगरी ऊ आएकोमा हामी दंग छौं । त्यो सबैलाई लागू नहुनसक्छ । माथिको घटना हुने बखत हामी दुई जना मात्र थियौं । छोरा र उसको परिवार आफ्नै पेशामा थिए । अचानक अस्पताल दौडाउनुपर्ने अवस्थामा के गरौं र कसो गरौंको स्थिति आउँदो रहेछ । तै आधा घण्टाभित्र छोराबुहारी आएर बिरामीलाई नजिकैको अस्पताल पुर्याउन सकियो ।
बिरामीलाई हठात् अक्सिजनको अभाव परेछ र जोडिएर आएका अनेकौं समस्याले पनि गाँजेको हुँदा २ दिनसम्म अस्पतालमै राख्नुपर्यो । काठमाडौंजस्तो स्थानमा यस्तो घटना भएकाले बेलैमा अस्पताल पुर्याउन सकियो । तर, यस्तै समस्या दूरदराजमा परे सम्भवत: मानिसको ज्यानै पनि जोगाउन नसकिँदो हो । मलाई लाग्यो मजस्ता धेरैले अहिलेको बुढ्यौली उमेरमा यस्ता समस्या भोगेका होलान् । मूल कुरा के भने यो उमेरमा हेर्दा तन्दुरुस्तै देखे पनि कुन बेला के हुन्छ भन्न नसकिने रहेछ । म स्वयम् पनि दुईपटक अचानक चक्कर आउने समस्यामा परेको छु । तर, त्यो दुर्लभै मानिसलाई मात्र हुने कानको एक खाले समस्या (पोजिसनल भर्टिवा) ले गर्दा रहेछ । यसैले चिकित्सकले सुझाएको एउटा औषधि साथमा जहिल्यै बोकेर हिँड्ने गर्छु ।
नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दो त छ नै तर त्योभन्दा पनि नजानिँदो गरेर घरघरमा ज्येष्ठ नागरिक मात्र बस्नुपर्ने अवस्थाले ल्याउनसक्ने समस्या वा सामाजिक परिस्थतिचाहिँ डरलाग्दो छ भन्न खोजिएको हो । यसैले अब सरकारहरूले ज्येष्ठ नागरिकलाई सामाजिक भत्ता दिएर सन्तोष लिने होइन कि तिनको स्वास्थ्योपचार, स्याहारसम्भार र रेखदेखमा चाहिँ विशेष चिन्तन मनन गरी आवश्यक नीति र कार्यक्रमहरू ल्याउने बेला भएको छ ।
उमेरको उत्तरार्द्धमा सन्तानको माया र स्याहार नपाउने अवस्थाका ज्येष्ठ नागरिकले कमसे कम सरकारबाट वा कुनै कल्याणकारी व्यवस्थाबाट सहजरूपले परेका बेलामा आपत्कालीन उपचार र रेखदेख पाउनसके ती धन्य हुनेछन् भन्ने नै मूल आशय यस लेखको हो । के यतापट्टि तिनको ध्यान जाला ? अहिले सरकार र तिनका प्रशासनिक उच्च तहमा रहेकाहरू पनि कुनै दिनका ज्येष्ठ नागरिक पक्कै हुन् ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।