काठमाडौं । बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत भारततर्फको ९८ किलोमीटर प्रसारण लाइनको काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
नेपालतर्फको १८ किलोमीटर प्रसारण लाइनको काम भने बल्ल शुरू हुने तरखरमा छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा बन्ने नेपालतर्फको १८ किलोमीटर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न भदौ १४ गते निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।
एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने नेपाल खण्डको काम २१ महीनामा सक्नुपर्ने शर्त रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट्स (एमसीए–नेपाल) ले जानकारी दिएको छ । एमसीए नेपाल एमसीसी कम्प्याक्ट कार्यक्रम कार्यान्वयन गर्न खडा गरिएको विशेष संस्था हो । यसअन्तर्गत ३१५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको केही भागको स्तरोन्नति हुनेछ । भारततर्फको काम भने तीव्र गतिमा भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । भारतमा दर्ता भएको प्राधिकरण र पावर ग्रीड कर्पोरेशनअन्तर्गतको संयुक्त उपक्रमले भारत खण्डको प्रसारण लाइन निर्माण गरिरहेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल २०८० जेठमा भारत भ्रमणमा जाँदा उनी र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा यो परियोजनाको शिलान्यास गरेका थिए ।
त्यसको केही महीनापछि भारत खण्डमा यसको निर्माण प्रक्रिया अघि बढेको थियो । भारततर्फको खण्डमा भने प्रसारण लाइनको टावर निर्माणका लागि करीब ५० प्रतिशत जग खन्ने काम सम्पन्न भइसकेको भारतमा स्थापना भएको संयुक्त उपक्रम कम्पनी बुटवल–गोरखपुर क्रश बोर्डर पावर ट्रान्समिशन लिमिटेडका समन्वय अधिकारी रूपेश शाहले आर्थिक अभियानलाई जानकारी दिए ।
‘नेपाल र भारत दुवैतर्फ गरी कुल २४८ टावर रहने उक्त प्रसारण लाइनमा अहिलेसम्म भारततर्फ १२१ ओटा टावरका लागि जग निर्माण भइसकेको छ । २७ ओटा टावरको काम पूर्णरूपमा सम्पन्न भएको छ,’ शाहले भने । ‘हालसम्मको कामको गति हेर्दा सम्झौता भएको समयअगावै सकिने सम्भावना छ ।’ सन् २०२६ को मेभित्र भारततर्फ प्रसारण लाइनको काम सक्ने समयसीमा रहेको उनले बताए । प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति र मुआब्जा वितरण जस्ता पक्षमा कुनै विवाद नहुँदा काम तीव्र गतिमा गर्न सहज भएको शाहको भनाइ छ ।
प्रसारण लाइन निर्माणको कुल लागत ६ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको छ । १ अर्ब २८ करोड (२० प्रतिशत) स्वपूँजी लगानी हुनेछ, जसमा नेपालले ६४ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यो लाइन निर्माण सम्पन्न भएमा पश्चिमी क्षेत्रको २ हजार मेगावाट विद्युत् प्रवाह हुनेछ ।
नेपाल र भारतबीच भएको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाटसम्म विद्युत् खरीद गर्नेछ । नेपालमा विद्युत् उत्पादन पनि बढ्दै गएको छ । प्राधिकरणका अनुसार आगामी ५ वर्षभित्र नेपालको विद्युत् उत्पादन १० हजार मेगावाट पुग्ने अनुमान छ ।
तर, समयमै स्वदेशभित्रका प्रसारण लाइन र अन्तरदेशीय प्रसारण लाइन नबने भारत निर्यात गर्न नसकिने प्राधिकरणका अधिकारी बताउँछन् । बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा भारततर्फ काम धेरै अघि बढिसक्दा पनि नेपालतर्फ भर्खरै मात्र काम शुरू हुने तरखरमा छ । यद्यपि नेपाल खण्डमा १८ किलोमीटर मात्र प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले कुनै अवरोध नआए बेलैमा काम सकिने अपेक्षा गर्न सकिन्छ ।
एससीए नेपालले भारतमा प्रसारण लाइन निर्माण सम्पन्न हुँदा नेपाल खण्डमा पनि सम्पन्न हुने गरी निर्माण व्ययवसायीलाई निर्माणको समयसीमा तोकेको छ । एमसीए नेपालले गतवर्ष नै बोलपत्र आह्वान गरी सबै प्रसारण लाइनका लागि ठेकेदार छनोट प्रक्रिया शुरू गरे पनि सबै बोलपत्रदाताले उच्च मूल्य तोकेकाले बोलपत्र नै खारेज गरेको थियो । भारत खण्डको काम सम्पन्न भइसक्दा नेपालतर्फ काम सम्पन्न नभएमा नेपालले जरीवानाबापत निश्चित शुल्क तिर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालय प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए ।
नेपालमा ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतको एसजेभीएन लिमिटेडले ढल्केवर–सीतामढी प्रसारण लाइन बनाइरहेको छ । नेपालतर्फका केही भागमा स्थानीय अवरोधका कारण यो प्रसारण लाइनको काम पूरा हुन नपाएकाले यस्ता पूर्वाधार समयमै बनाउन नसके विद्युत् निर्यात प्रभावित हुन सक्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।