काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउन थालेपछि मुद्दती निक्षेपको हिस्सा पनि कम हुन थालेको छ । तरलता बढेसँगै बैंकहरूले ब्याज घटाएपछि साधारण बचतको हिस्सा बढेर मुद्दती निक्षेप घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव)को चैतमा बैंक तथा वित्तीय संस्थासँग रहेको कुल निक्षेपमध्ये ५८ दशमलव ९ प्रतिशत मुद्दतीमा छ । गत आवको चैतमा बैंकहरूमा रहेको कुल निक्षेपमध्ये ६० दशमलव १ प्रतिशत मुद्दतीमा थियो । गत आवको पुसमा बैंकहरूको कुल निक्षेपमध्ये ६० दशमलव ३ प्रतिशत रकम मुद्दतीमा थियो ।
वित्तीय प्रणालीमा तरलता अभावसँगै निक्षेप बढाउन बैंकहरूले गतवर्ष ब्याजदर बढाएका थिए, जसकारण बैंकमा मुद्दती निक्षेपको हिस्सा बढ्यो । तर, चालू आवको शुरूदेखि नै बैंकहरूले ब्याजदर घटाउन थालेपछि मुद्दती निक्षेपको हिस्सा घट्न थालेको हो ।
तरलता अभाव हुँदा बैंकहरूले निक्षेप बढाउन बढी ब्याज दिएर मुद्दती निक्षेपमा जोड दिएको र अहिले त्यो क्रमश: घटिरहेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहालले बताए । ‘बैंकहरूले तरलता अभाव भयो भने निक्षेप तान्न बढी ब्याज दिएर मुद्दती निक्षेप योजनाहरू ल्याउँछन्,’ उनले भने ।
गत आर्थिक वर्षसम्म बैंकहरूले निक्षेप बढाउन मुद्दतीमा उच्च ब्याजदर दिए । निक्षेप आकर्षित गर्नकै लागि बैंकहरूले १० गुणासम्म प्रतिफल दिनेगरी २१ वर्ष अवधिसम्मका योजनाबाट निक्षेप संकलन गरेका थिए ।
चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ, जस कारण बैंकहरूले ब्याजदर घटाउँदै लगेका हुन् ।
चालू आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६१ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब २८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा निक्षेप ७ दशमलव २ प्रतिशतले बढ्दा कर्जा भने ४ दशमलव ६ प्रतिशतले मात्र बढेको छ ।
चालू आवको शुरूदेखि नै बैंकहरूले ब्याजदर घटाउन थालेका हुन् । तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आवको साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि ब्याजदर लगातार घटिरहेको छ । वैशाखको तुलनामा जेठमा अधिकांश बैंकले ब्याजदर घटाएका छन् । जेठका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८ प्रतिशतभन्दा तल झरेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले साधारण बचतमा दिने न्यूनतम ब्याजभन्दा मुद्दती निक्षेपमा थप ५ प्रतिशत विन्दु अधिकतम ब्याज दिन पाउँछन् । कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यसैगरी बैंकहरूले रेमिट्यान्स मुद्दतीलाई साधारण मुद्दतीको थप एक प्रतिशत विन्दुले बढी ब्याज दिन पाउने प्रावधान छ, जसकारण बैंकहरूले तरलता कम हुँदा निक्षेप आकर्षित गर्न मुद्दतीमा जोड दिने गरेका छन् । पछिल्लो समय तरलता सहज भएपछि बैंकहरूले यसलाई घटाउँदै लगेका छन् ।
राष्ट्र बैंकका अनुसार चैतमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ६ दशमलव ५३ र कर्जाको औसत ब्याजदर १० दशमलव ५५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको पूँजीमा लागत कम भई आधारदर पनि चैतमा ८ दशमलव ५१ प्रतिशतमा झरेको छ । एक वर्षअघि वाणिज्य बैंकहरूको आधारदर १० दशमलव ४८ प्रतिशत थियो ।