काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धि ४ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको तथ्यांक कार्यालयले बताएको छ ।
तर, पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गएपनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक नरहेको तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
अघिल्लो आव २०७९/८० को दोस्रो त्रैमासिकको तुलनामा चालु आव २०८०/८१ को दोस्रो त्रैमासिकमा थोक तथा खुद्रा व्यापार क्षेत्रमा सामान्य वृद्धि (०.५ प्रतिशत) मा सीमित भएको छ । व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको बताइएको छ ।
यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि वृद्धिदर झिनो अंकले ऋणात्मक (–०.४ प्रतिशत) रहन गएको छ । गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको प्रारम्भिक अनुमान छ ।
अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा चालु आवमा कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर भने धनात्मक छ, जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२९.३ प्रतिशत) छ भने विद्युत तथा ग्यास क्षेत्र १७.१ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र छ । यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ ।
त्यसैगरी खानी तथा उत्खनन् क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने अनुमान गरिएको छ । निर्माण क्षेत्रमा उत्खनन् आएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्षरूपमा भरपर्ने खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ ।
निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर (९.१ प्रतिशत)मा सकारात्मक प्रभाव पारेको छ ।