काठमाडौं । चैतमा धितोपत्र दोस्रो बजारमा ५७ अर्ब २२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र खरीदविक्री भएको छ । उक्त रकम बराबरको १५ करोड ५९ लाख १२ हजार कित्ता धितोपत्र चैतमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको हो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत कम्पनीका धितोपत्रले ओगटेका छन् । चैतमा जलविद्युत समूहको सर्वाधिक १५ अर्ब २ करोड ७६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६ लाख १७ हजारभन्दा बढी शेयर कारोबार भएको हो ।
पछिल्लो समय कारोबार रकममा जलविद्युत समूहले नै सर्वाधिक हिस्सा ओगट्दै आएको छ । फागुनमा पनि जलविद्युत समूहकै सर्वाधिक रकमको कारोबार भएको थियो । फागुनमा ६१ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा जलविद्युत समूहको सर्वाधिक २३ अर्ब ३९ करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो । चैतमा सर्वाधिक हिस्सा ओगटेको जलविद्युत समूहको शेयर कारोबार फागुनको तुलनामा भने चैतमा घटेको हो । कुल कारोबार रकम पनि फागुनको तुलनामा चैतमा घटेको हो ।
चैतको कारोबारमा सर्वाधिक हुने दोस्रो नम्बरमा उत्पादन तथा प्रशोधन समूह छ । उत्पादन तथा प्रशोधन समूहको ७ अर्ब ८७ करोड रूपैयाँभन्दा बढीको १ करोड २५ लाख ६६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले देखाउँछ ।
त्यस्तै लघुवित्त समूहको ७ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी, वित्तको ६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी, जीवन बीमाको ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी, बैंकिङको २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी, विकास बैंकको २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी, संस्थापक शेयर २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी, अन्य समूहको २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी, निर्जीवन बीमाको १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी, लगानीको १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी, होटल्स तथा पर्यटनको १ अर्ब १ करोड रुपैयाँभन्दा बढी, ऋणपत्रको ३४ करोड ८६ लाख रुपैयाँभन्दा बढी, व्यापारिकको २० करोड ६६ लाख रुपैयाँभन्दा बढी र म्युचुअल फण्डको १० करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
म्युचुअल फण्डको कारोबार चैतमा सबैभन्दा कम भएको हो । फागुनमा ऋणपत्रको कारोबार हिस्सा सबैभन्दा कम थियो । ऋणपत्रको कारोबारमा भने चैतमा वृद्धि भएको छ । फागुनमा ५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ५९ हजारभन्दा बढी कित्ता ऋणपत्र कारोबार भएको थियो ।
कम्पनीको हिसाबमा भने चैतमा गोर्खाज फाइनान्सको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । नेप्सेका अनुसार गोर्खाज फाइनान्सको २ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको शेयर चैतमा मात्र कारोबार भएको हो ।
समूह | कारोबार रकम रू दश लाखमा | कारोबार कित्ता हजारमा |
जलविद्युत् | 15027.6 | 50617.25 |
उत्पादन तथा प्रशोधन | 7878.7 | 12566.88 |
लुघवित्त | 7445.36 | 8437.52 |
वित्त | 6782.14 | 13121.15 |
जीवन बीमा | 3635.27 | 7105.62 |
बैंकिङ | 2999.66 | 13455.21 |
विकास बैंक | 2930.5 | 8187.39 |
संस्थापक शेयर | 2701.33 | 17778 |
अन्य | 2534.75 | 4097.51 |
निर्जीवन बीमा | 1888.36 | 2867.87 |
लगानी | 1724.93 | 3510.79 |
होटल्स् तथा पर्यटन | 1014.24 | 1615.91 |
ऋणपत्र | 348.68 | 342.72 |
व्यापारिक | 206.65 | 43.3 |
म्युचुअल फण्ड | 105.94 | 12165.31 |
कुल कारोबार | 57224.11 | 155912.43 |
स्रोत : नेप्से ।