देश निर्दलबाट बहुदलमा के गाथ्यो, मानिसमा मनमा थुप्रै शंका–कुशंकाहरू आथ्यो । तर अब त ती सप्पै हराए । गत ३४ वर्षमा आत्मविश्वास गज्जपले बढेको छ । शंका, कुशंका, उपशंका, आशंका, लघुशंका, दीर्घशंका सबै हटिसके । अझ झन्डै १८ वर्ष अगाडि राजतन्त्रै हटेर गणतन्त्र नै आएपछि त देश प्रगतिको बाटोमा बुर्कुसी मारेर दौड्या दौड्यै छ भन्या !
विसं २०४७ चैत २६ मा जब स्वतन्त्रता प्राप्त भयो, देश बहुदलमा गयो, तब कतिजना परम्परा मासिने भयो, जातजाति भन्ने कुरा सकिने भो, सामाजिक संस्कार, धर्म सबै बर्बाद हुने भयो भनेर त्राहिमाम् भए । तर रिट्ठो बिरिएन । सबै उस्तै चलिरहे, जसरी पहिला चल्थे । अहिले पनि जातजातिका बीचमा कित्ताकाट चलेकै छन् । सबैले आआफ्ना धर्म, कर्म र मर्म निर्वाह गरेकै छन्, केहीले शर्म छाडे त्यो चाहिँ अलग कुरा हो ।
एउटा जातिले प्रगति गर्छ, अर्कोलाई जलन हुन थाल्छ । अनि उसले पनि प्रगति गर्न थाल्छ । यही प्रतिस्पर्धाले देशैभरि प्रगति हुन्छ । त्यसैले अहिले जातपातलाई लिएर कुनै निराशा छैन । त्यसैले प्रत्येक जातिको कर्तव्य हो, आफ्नो जातिलाई मात्र बढाऊँ । प्रगतिको अर्थ नै आफ्नो र आफ्नाको प्रगति हो, आफू र आफ्नाले ठेक्का वा जागीर पाउनु हो ।
३४ वर्ष पहिले सत्ता र शक्तिका नजिक रहेर हालीमुहाली गर्नेलाई आफ्ना दिन सकिए भन्ने डर थियो । तर त्यस्तो केही भएन, धेरैको त झन् सुध्रिँदै गयो । अहिले पनि कैयांैले सत्ता र शक्तिको आशीर्वाद पाइरहेकै छन् । प्रशासनमा जसरी हिजो टिप्पणी लेख्थे वा जसरी काम गर्थे वा गराउँथे, आज पनि त्यसरी नै चलिरहेको छ ।
३४ वर्ष पहिले हामी हाम्रा हिमाल, खोला, खनिज, जंगल, चराचुरुंगी जस्ता कुरामा गर्व गथ्र्यौैं । आज पनि त्यो कायमै छ । संसारले जतिसुकै भौतिक पूर्वाधारमा वा वैज्ञानिक खोज, अनुसन्धानमा प्रगति गरे पनि हामीसँग भएका गौरव उनीहरूसँग छैनन् क्यारे ! संसार अघि बढेर के भो र हामी जहीँको तहीँ बसेर गर्व गर्न पाउनु कम सौभाग्य हो त ? उनीहरूले हाम्रो जस्तो के कुरामा गर्व गर्न सक्छन् र ? झन् अहिले त हामीले गर्व गर्ने सूचीमा चुच्चे नक्सा र भ्यू टावरहरू समेत थपिएका छन् ।
समयले सबै कुरा ठीक ठाउँमा ल्याउँछ । ती दिनमा यदि नेपालले मात्र प्रगति गर्यो भने छिमेकी देश भारत, चीन, भूटानको बेहाल होला कि भन्ने नेपालीलाई चिन्ता थियो । त्यसैले ती देशलाई प्रगति गर्न दिएर नेपाल जहाँको तहीँ बसिरह्यो । हामीले अरूले भन्दा कम प्रगति गरेर के भाछ र ? आखिर उनीहरूले हामीलाई ऋण, अनुदान के के दिइराखेकै छन् । त्यसबाट हामीले पनि प्रगति त गरिराखेकै छौं । विगतमा पनि ती देशहरू जो धनी थिए, आज पनि धनी नै छन् । हिजो पनि हामीलाई मद्दत गर्न सक्थे, आज पनि हामीलाई मद्दत गर्न सक्छन् । हामी हिजो पनि ऋण वा अनुदान माग्ने हैसियतमा थियौं र आज पनि छौं । ती विकसित देशरू हाम्रो निवेदनमाथि हिजो पनि विचार गर्थे, आज पनि गम्भीर विचार गर्छन्, अक्सर हाम्रा ऋण वा अनुदानलाई अनुमोदन पनि गर्छन् ।
हामी वर्षौंदेखि खाद्यान्न मागेर वा किनेर खान्थ्यौंं । अहिले पनि त्यसरी नै खाइरहेकै छौं । कृषिको विकासका योजनाहरू बनाउन पनि छाडेका छैनौं । उहिले पनि व्यापारघाटा थियो, अहिले पनि व्यापार घाटा नै छ ।
देशको माटोले उत्पादन गर्न जानेको छ । अन्न नबढेर के भो र गाउँ, नगर र प्रदेशमा त्यही स्तरका नेताहरू उम्रेकै छन् । जब देश बहुदलीय प्रणालीमा गयो र अझ १८ वर्षअघि प्रदेशमा विस्तार भयो, एउटा ठूलो डर थियो कि नयाँ नयाँ नेताहरू कहाँ, कसरी उत्पादन होलान् र भनेर । तर अहिले देशमा नेताहरूको आपूर्तिमा कुनै कमी छैन । अहिले त विगतमा चोरी, डकैती, लुटपाटमा संलग्नहरू समेत नेतामा रूपान्तरण भइसकेका छन् । एउटा देशले योभन्दा कति रूपान्तरण गर्ने, ह्याँभन्दा कत्ति धेरै प्रगति गर्ने हो र ?
अर्को चिन्ता यो पनि थियो कि संसदीय तन्त्रका नेता बि.पी कोइराला र पछि गिरिजा प्र. कोइराला, कम्युनिष्ट नेता पुष्पलालहरू नरहेपछि दलहरू कसरी चल्लान्, देश कहाँ जाला, के होला ? तर देश कहीँ पनि गएन । अलिअलि जंगे पिलरहरू सारिएका मात्र हुन् । दलहरू त पहिलेभन्दा अहिले झन् झन् फैलिएका छन् । कसैकसैले आफैलाई बि.पी, पुष्पलाल समेत भन्न पनि थालेका छन् । हरेक घरमा कुनै न कुनै दलको झण्डा गाडिएकै छ । तिनका नेता कार्यकर्ता धेरैले त प्रगति गरेकै छन् ।
त्यसैले देश त अघि बढिरहेको छ । पहिले एसएलसी पढेकाले पियनको जागीर माग्न जान्थ्यो, पाउँथ्यो पनि । अब शैक्षिक प्रगति यति राम्रो भयो कि बिए, एमए गरेकाले पियन माग्दा पनि जागीर नपाउने स्थिति छ ।
अहिले त आर्थिक लाभका अवसरहरू यति धेरै छन् भनिसाध्य छैन । जग्गा दलाली गर्ने कि सहकारी ठग्ने ? स्मगलिङ गर्ने कि सरकारी सप्लाईको टेन्डर उछिट्याउने ? मिलावट गरेर सामान बेच्ने कि हुन्डीको कारोबार ? शेयरमा चलखेल गरेर पैसा बटुल्ने कि चन्दा वा असुलीको धन्दा गर्ने ? लाइसेन्सकै किनबेच गर्ने कि मिडियाको पसल खोलेर ब्ल्याकमेल गर्ने ? ढुंगागिट्टी, बालुवाको धन्दा चलाउने कि निजी स्कुल वा कलेज चलाउने ? कन्सल्टेन्सी चलाउने कि सरकारी सहायता लिएर सर्प पाल्ने फर्मजस्तोे संस्था खोल्ने ? नक्कली प्रमाणपत्र बेच्ने कि सक्कली मान्छे बेच्ने ?
स्वास्थ्य क्षेत्रमा पनि बहुदलीय प्रजातन्त्र आएपछि त्यस्तै धेरै आर्थिक अवसरहरू खुलेका छन् । धेरै अस्पताल आए । धेरै डाक्टरहरू बने र हरेक अस्पताल, क्लिनिकमा बिरामीहरूको भीड धेरै बढेका छन् । यसको मतलव स्वास्थ्यमा पनि प्रगति नै छ । स्वास्थ्य नै धन हो भनेपछि धनको बाटो त खुल्ने नै भए ।
यसरी बहुदल आएपछि विकासका बहुबाटाहरू खुलेका छन् । विकासका सडकमात्र होइन, गल्लीहरू पनि खुबै खुलेका छन् । प्रोड्युसर बन्नोस् वा प्रकाशक हुनोस् । पुरस्कार दिनोस् र पिएचडी पाउनोस्, राजदूत खानोस्, उज्ज्वल नक्षत्र पदक पड्काउनोस् । अवसरका कुनै कमी छैनन् यो बहुदलीय प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा ।
यसरी ३४ वर्षमा जुन क्षेत्रमा जानोस्, आमूल परिवर्तन भए । देश र भेष पूरै बदलियो । जम्मा ३४ वर्षमा यत्रो परिवर्तन कम हो ? तपाईंले केही मौका पाउनुभएको छैन भने निराश नहुनुस् है ! तपाईंले पनि कुनै न कुनै अवसर पाइहाल्नुहुन्छ । स्वतन्त्र देशको स्वतन्त्र दलहरू र आफ्नै खुट्टामा उभिएको सरकारमाथि भरोसा कायम राख्न सिक्नोस् । ‘भगवान्के यहाँ देर है, अन्धेर नही है’ भन्छन् । तपाईंका लागि पनि कहीँ न कहीँबाट अवसरका ढोका अवश्य खुल्नेछ । तर कस्को ढोका ढक्ढक्याउने थाहा चैं पाउनुपर्छ है !