काठमाडौं । छठ पर्वको मुख्य दिन आज ललितपुरको कुपण्डोलस्थित बाग्मती किनारमा रौनक देखिएको छ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन पुगेका श्रद्धालुको भीडले बाग्मती किनारमा रौनक देखिएको हो ।
निराहर व्रत बसेकाहरूले नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
विशेष पूजाको अवसरमा उनीहरूले सूर्य र छठी माताको आराधनासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ ।
पर्वका अवसरमा भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डप अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।