पेन्चाओ (चीन) । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले छिमेकी राष्ट्र चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।
चीनको पीङचाओ फोटोग्राफर एसोसियसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल-चीन मैत्री संघको सहकार्यमा सान्तोङ प्रान्तमा 'हिमशृंखलामाथिको उडानले भरिएको नेपाल' (सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) नामक प्रदर्शनी आयोजना गरिएको हो ।
फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा आबद्ध फोटोपत्रकारले खिचेका पर्यटकीय क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करीब १०० तस्वीर राखिएका छन् । कार्यक्रममा सान्तोङ प्रान्तका पूर्व उपप्रचारमन्त्री ह्वाङ्जी चुनको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा एनएफपिजे नेपाल र विन्जाओ फोटोग्राफर एसोसियसनबीच सांस्कृतिक तथा व्यावसायिक फोटोग्राफीमा सहकार्य गर्ने सम्झौता आदानप्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विन्जाओका परराष्ट्रमामिला निर्देशक पाइमिइले फोटोग्राफीमार्फत नेपाल-चीनको मैत्री सम्बन्ध बलियो बनाउनुका साथै चीनको वान बेल्ट वान रोडको अवधारणालाई पनि सहयोग पुग्ने बताए ।
एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले फोटो प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एनएफपिजेका प्रथम उपाध्यक्ष सुनिल शर्माले फोटो प्रदर्शनीले नेपालमा चिनियाँ पर्यटक आकर्षण बढेर 'नेपाल भ्रमण वर्ष २०२५'मा पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरे ।
प्रदर्शनी सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महीनासम्म चल्नेछ ।
सो प्रदर्शनीका लागि एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १४ सदस्यीय टोली चीनको सान्तोङ प्रान्तमा छ ।