प्रचण्ड सरकारमा आएयता थुप्रै भ्रष्टाचार काण्डहरूका फाइल खुलेका छन् । मेलम्चीमा भ्रष्टाचार, ललिता निवास काण्ड, बाँसबारी छालाजुत्ता जग्गा हिनामिना, सुन काण्ड वा कुनै पनि काण्ड । यस्ता सबै काण्डहरूमा जाँचबुझ वा छानबिन गर्न भनेर माग उठ्छ र जब छानबिन समिति बन्छ, त्यसमा परेका अधिकारीहरूलाई देश विदेशमा पर्यटनको सुनौलो मौका मिल्छ ।
छानबिनका बहानामा यी समितिका अध्यक्ष र सदस्यहरू पूर्व मेचीदेखि पश्चिम महाकाली, बेलायत, सिंगापुरदेखि अमेरिकासम्म पुग्छन् । नेपालको कुनै ठाउँमा भएको बलात्कारको जाँच पडताल गर्न यी छानबिन समितिका महामहिमहरू थाइल्यान्डदेखि अमेरिकाका होटलहरूमा चक्कर काट्छन् । यिनीहरू छानबिनको गहिराइमा यति तल डुब्छन् कि पद नभए त ती सधैंका लागि पो डुब्छन् । त्यसैले उनीहरू फेरि पदमै रहिरहनु आवश्यक हुन्छ । अनि सरकार त अभिभावक हो नि त । यस्तो डुब्न लागेकालाई उसले बचाउन परेन ? अनि छानबिन नगरेर भो त ? यसैले छानबिन अर्थात् छानी छानी बिन्ने काम हुन्छ ।
यसरी हत्या, बलात्कार, आर्थिक घोटाला, ठेक्काबाजीजस्ता राजनीतिक सांस्कृतिक कार्यक्रमहरूका छानबिन प्रतिवेदन नामका ५००० देखि १ लाख पन्नासम्म कागज यत्रतत्र फिजारिइरहेको हुन्छ । देश जतिसुकै डिजिटल युगमा प्रवेश गरेको छ भनेर भाषण ठोके पनि छानबिनका यति धेरै कागज हुन्छन् कि तिनलाई ट्रकको पछाडि राखेर अफिसबाट अदालत र अदालतबाट मिडियामा प्रदर्शनीका रूपमा सजाइने गरेको छ ।
छानबिनहरूलाई मुक्ति दिलाउनका लागि सरकारी अफिसहरूमा सेतो कपडाका पोकाहरू थुपारेर एक प्रकारका चिहानहरू बनाइएका छन् । शासन सचिवालय, अदालतका कोठा, अख्तियार, अनुसन्धान ब्यूरो परिसर, मन्त्री अफिस, आदि धार्मिक स्थानहरूमा सेतो कपडाका यस्ता चिसा पोकाहरू लडिरहेका हुन्छन् ।
छानबिन चलिरहन्छ । छानबिन भविष्यमा पनि चली नै रहन्छ । छानबिन परम गतिशील छ । यति धेरै छानबिन हुन्छन् कि यसबाट को मुक्त हुन सक्छ र ? त्यसैले त कात्रोजस्तो देखिने सेतो कपडाका चिसा पोकाहरूको आविष्कार भएको हुनुपर्छ । छानबिनहरूलाई मुक्ति दिलाउनका लागि सरकारी अफिसहरूमा सेतो कपडाका पोकाहरू थुपारेर एक प्रकारका चिहानहरू बनाइएका छन् । ज्ञानीजनहरू यी छानबिनहरूलाई चिसा पोकाहरू भन्छन् ।
मन्त्री, सचिव, कर्मचारी, नेता, दलाल, चम्चाजस्ता प्रत्येक महानुभावमाथि ठूल्ठूला आरोप लाग्छन् । यी संगीन आरोपहरू लागेकै कारण उनीहरूको नामसँगै ख्यातिको ध्वजा कायम रहन्छन् । नेताका टोपीमा लोकप्रियताका फित्ता थपिन्छन् । जसरी कुनै सरकारी पदमा आफ्नो दलको मान्छे पार्न समिति बनाइन्छ र त्यहाँ नेताले भनेअनुसारका मान्छे नै राखिन्छन्, त्यसैगरी छानबिनका नाममा समिति, आयोग, मण्डल, दल आदि गिरोहको पनि गठन हुन्छ, ताकि आफूले भनेअनुसारै प्रतिवेदन तयार होस् ।
अनि तारिख, तारिख, अनि तारिख हुन्छ । छानबिनका पन्नाहरू । फाइल, फाइल अनि फाइलहरू । अनि फेरी इन्ट्री हुन्छ सेतो कात्रोजस्ता देखिने पोकाभित्रका थप फाइलहरू । शासन सचिवालय, अदालतका कोठा, अख्तियार, अनुसन्धान ब्यूरो परिसर, मन्त्री अफिस, आदि धार्मिक स्थानहरूमा सेतो कपडाका यस्ता चिसा पोकाहरू लडिरहेका हुन्छन् । यी चिसा पोकाहरूमा कत्ति प्रकारका तातो कुराहरू हुन्छन् । नेताजी वा हाकिमजी बलात्कार गर्छन् वा भ्रष्टाचार गर्छन् र यी विषय तिनै चिसा पोकाहरूभित्र जान्छन् । दलालहरू मेलाम्चीदेखि फाष्ट ट्र्याकसम्म मेसिनदेखि मान्छेसम्मका दलाली गर्छन् । त पनि सबै कुरा यिनै चिसा पोकाहरूमा पुग्छन् । शासन–प्रशासनका कार्यालयहरूमा चिसा पोकाहरूका पहाड बन्छन् । तपाईं जुनसुकै चिसा पोकामाथि हात राख्नुहोस्, त्यसबाट तात्तातो बाफ निक्लन्छ । ती पोका खोल्दाखेरि त्यसबाट एकदमै तातोको ज्यालामुखी नै फुट्छ । यदि यी पोकाभित्रका पानाहरूलाई हेर्नुभयो भने तपाईंलाई ‘लू लाग्छ’ । त्यसैले ती चिसा पोका खोल्न निकै तातो आँट पो चाहिन्छ त । बाहिरबाट एकदम चिसो भित्रबाट एकदमै तातो ।
यस्ता चिसा पोकाहरूको अचेल निकै बोलवाला छ, देशैभरि हल्लाखल्ला छ । बलात्कारी माननीय सांसद, मन्त्रीज्यू, घोटालाप्रसाद अधिकारीजी, रंगीला नेताजी र परमपवित्र, पुनीत, प्रात: स्मरणयोग्य दलाल महोदयज्यूका थुप्रै काण्डहरू सबै चिसा पोकाहरूमै राख्ने नीति छ । चिसा पोकाहरूभित्र परेका विषयहरू बाहिर निकाल्ने धम्की दिएर प्रधानमन्त्री, मन्त्री, नेता, हाकिम, दलाल आदिलाई बेलाबेलामा वशीभूत पनि गरिन्छ । यही नै त शासकीय रीति हो । किनकि शासकहरूका चिसा पोकाहरूसँग यति धेरै प्रीति जो छ ।