चोभार पुष्प तथा फलफूल बजारको भवन : ११ औं पटक थपिएको म्यादमा पनि देखिएन पूरा हुने छाँट

Share News

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको भवनको काम तत्काल पूरा गर्न निर्देशन दिएका छन् । २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शुरु भएको बहुतले भवनको काम अहिलेसम्म पनि पूरा नभएपछि कृषिमन्त्री अधिकारी शुक्रवार दिउँसो निरीक्षणका लागि चोभार पुगेका थिए । 

११औं पटक थपिएको म्याद सकिन १० दिन मात्र बाँकी छ । सम्झौताअनुसार उक्त बजार निर्माणको काम यही भदौ मसान्तसम्म सकिसक्नुपर्नेछ । तर, २३ रोपनी क्षेत्रफलभित्र निर्माणाधीन बहुतले भवनको अझै १३ प्रतिशत काम बाँकी छ । त्यसकारण यो महीनाभित्र काम सम्पन्न गर्न सहज देखिँदैन । 

निर्माण अवधिभित्र काम पूरा नहुने छाँट नदेखिएपछि कृषिमन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । सम्झौताअनुसार काम नसकिए कानुन अनुसार कारबाही गर्ने उनले चेतावनीसमेत दिएका छन् । 

पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले त्यसका लागि मन्त्रालय आवश्यक सहजीकरण गर्नका लागि तयार रहेको बताए । चोभारमा रहेको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता लाभान्वित हुने जनाउँदै मन्त्री अधिकारीले भवन निर्माणमा कुनै पनि बहाना नगर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् । 

२ वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करीब ३५ करोड रुपैयाँको लागतमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि २०८० चैत १३ गते २०८१ भदौ मसान्तभित्र काम सम्पन्न गर्ने गरी ११औं पटक म्याद थप भएको थियो । समयमा काम पूरा नहुँदा त्यसको लागत बढेर ४० करोडभन्दा बढी पुगेको छ । 

लागत बढ्दै जाने तर सम्झौता अनुसार काम नभएपछि कृषि मन्त्री अधिकारी मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्टेन्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको वास्तविक अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।