चितवन। सौराहामा डेढ अर्बभन्दा बढीको लगानीमा पाँच तारे होटल ‘रोयल टुलिप’ सञ्चालनमा आउने भएको छ । होटल २०२५ को जनवरीदेखि सञ्चालनमा आउने भएको हो ।
केटीएम हस्पिटालिटी ग्रुपको लगानी र लुभ्र होटल्सको सहकार्यमा ‘रोयल टुलिप’ सञ्चालनमा ल्याइन लागेको बताइएको छ । फ्रान्सेली समूह लुभ्र होटल्सअन्तर्गतको चेन आउँदा नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रवर्द्धन गर्न थप सहयोग पुग्ने हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाहले बताए ।
हेरिटेज, बुटिक शैलीमा निर्माण गरिएको होटलमा ठूला सभा हल, पाँच सय क्षमताको बैंक्वेट हल, सेमिनार हल, लबी लाउञ्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुराँ, स्वीमिङ पुलका साथै डुंगा सयर, जलमहलको बास, स्पासहितको हेल्थ क्लब, चिल्ड्रेन पार्क, एमपी थिएटर, लङ टेनिस कोर्ट, पदयात्रा मार्ग, बेकरी सहितको ग्रिल बार लगायतका सेवा उपलब्ध हुने बताइएको छ ।
करीब ३४ रोपनी क्षेत्रमा रहेको होटलका १३ एकतले, पाँच दुईतले, तीन तीनतले र एउटा चारतले गरी २२ ओटा भिल्ला रहेको बताइएको छ ।