काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइन महशुलसम्बन्धी विवाद वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।
विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित भएको र लगानीको वातावरणमा प्रतिकूल असर परेको भन्दै उद्योग वाणिज्य महासंघले नेपाल सरकार सहितका सरोकारवालालाई यस्तो आग्रह गरेको हो ।
उद्योग वाणिज्य महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा विवाद समाधानका लागी उद्योगहरूमा लाइन नकाट्न र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा समाधान खोज्न आवश्यक रहेको उल्लेख गरेको छ ।
लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताको माध्यमबाट विवाद समाधान गरिनुपर्ने र यसका लागि नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिका आवश्यक रहेको उद्योग वाणिज्य महासंघको ठहर छ ।
उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद अन्त्य गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर, उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन नसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।