काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन लागिएको बताएका छन् । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा आयोजना गरेको आठौं संस्करणको न्यूबिज बिजनेस कन्क्लेभ एन्ड अवार्डस्लाई सम्बोधन गर्दै उनले लगानी गर्न इच्छुक दातृ निकाय र निजीक्षेत्रलाई नीतिगत समस्या नरहेको बताए । उनले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘समस्यासँग जुधेर आएको निजीक्षेत्रलाई समेटेर सरकार अगाडि बढ्छ । सरकारले स्टार्टअपका नीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई प्रोत्साहित गरेको छ,’ उनले भने । मन्त्री भण्डारीका अनुसार अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि समाधानका लागि राज्यले काम थालिसकेको छ ।
निराशालाई चिर्दै आशा जगाउने प्रतिवद्धतासहित सरकारले केही अवधारणा सार्वजनिक गरेको र त्यसकै जगमा अगाडि बढ्न खोजेको उनको भनाइ छ । ‘लगानी किन भित्रिएको छैन ? लगानीको वातावरण किन बनेन ? नेपालको ठूलो जनशक्ति किन विदेशिँदै छ ?’ मन्त्री भण्डारीले भने, ‘नेपालका सम्भावनाप्रति निराशा छ, यसलाई चिर्नुपर्ने छ । यसका कारण धेरै होलान् । नीतिगत अस्पष्टताका कारण पनि होला, यसमा सरकार संवेदनशील छ ।’
आर्थिक क्षेत्रको संकटमोचनका लागि लगानी सम्मेलन गर्न लागिएको भन्दै उनले सम्मेलनको समय पारेर निजीक्षेत्र र दातृ निकायलाई सहज बनाउन करीब एक दर्जन कानून संशोधन गर्न लागिएको बताए ।
एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकरले आर्थिक क्षेत्रमा केही समस्या भए पनि मुलुक त्यसको व्यवस्थापन गर्न सक्षम रहेको भन्दै हालका समस्या समाधान गर्न असहज नरहेको बताए । उनका अनुसार नेपाल छुट्टै पहिचान र सम्भावनाको देश हो । भूकम्पजस्तो जटिल समस्याबाट समेत मुलुक सहजै माथि उठेको स्मरण गर्दै उनले अर्थतन्त्रमा केही समस्या देखिएको र त्यसबाट छिट्टै निकास पाउने विश्वास व्यक्त गरे । ‘नेपालको आर्थिक क्षेत्रमा प्रशस्तै सम्भावनासँगै समस्या पनि छन् । आर्थिक क्षेत्रको विकासको लागि सबै तयार छन् । तर, कहिले र कसरी भन्ने प्रश्न छ,’ उनले भने, ‘यो समयमा कस्तो रोल प्ले हुन सक्छ भन्ने विषयमा काम होला । यसमा आशा गरौं, सकारात्मक सोचौं ।’
रेमिट्यान्सको कारण जनतासँग पैसा भएको र यो बढिरहेको तथ्यांकले देखाएको उनले बताए । ‘नेपाली युवाको विदेश जाने ट्रेन्ड बढेको छ । ती फर्किन्छन्/फर्किंदैनन् थाहा छैन । सरकारले यो बुझेकै छ, यसमा काम पक्कै गर्नेछ,’ उनले भने । गौरीशंकरले व्यावसायिक कम्पनीहरूलाई नेपालीले के चाहन्छन् भन्ने सोचेर काम गर्न सुझाउँदै गुणस्तर र परिणाममा पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन समेत गरिएको थियो ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई) का वरिष्ठ सल्लाहकार मानब मजुमदारले विश्व अर्थतन्त्रले चुनौतीपूर्ण समयको सामना गरिरहेको बताए । दशकको प्रारम्भिक वर्षमै ठूला अवरोध देखापरेको बताउँदै केही पुराना जोखिमहरू समेत कायमै रहेको जानकारी दिए । उनका अनुसार धेरै नयाँ झट्का र चुनौतीले व्यापार जगतलाई बारम्बार गम्भीर रूपमा असर गर्छ । उनले अहिलेको समयमा व्यवसाय क्षेत्रले भोगिरहेको समस्याबारे प्रस्तुती दिएका थिए । उनका अनुसार अर्थतन्त्रमा मन्दी रहे पनि कतिपय स्थापित उद्योग व्यवसाय राम्रोसँग चलेका छन् ।
अप्ठ्यारो परिस्थितिमा पनि ग्राहकको मागलाई ध्यानमा राख्न सके व्यवसाय माथि उठ्न सघाउ पुग्छ । २००८ मा स्टारबक्सले सात हजार स्टोर बन्द गरेको उदाहरण दिँदै उनले भने, ‘तर विभिन्न समयमा कफी कै प्रडक्टलाई इनोभेसन गरेर कम्पनी ब्याक भएको थियो । स्टारबक्स डिजिटाइजेसनबाट सफल भएको छ ।’
कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले २०१३ देखि अवार्ड गर्दै आएको जानकारी दिँदै निष्पक्ष तवरले उत्कृष्ट छनोट गरिएको बताए । यसमा विज्ञहरू सम्मिलित निर्णायक मण्डलदेखि बैंक, बीमा कम्पनीसहित प्रायोजकहरूको योगदान अमूल्य रहेको उनको भनाइ छ । निर्णायक मण्डलको तर्फबाट बोल्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वअध्यक्ष रमेश हमालले यसपटक दुर्गम प्रदेशअन्तर्गत पर्ने मधेश, कर्णाली, सुदूरपश्चिममा समेत सेवा प्रवाह गरिरहेका कम्पनीलाई छनोट गर्न सकिएको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निर्णायक मण्डल कुनै दबाब प्रभावमा नपरी उत्कृष्ट कम्पनी छनोट गर्न सफल भएको बताए । व्यावसायिक रूपमा सक्षम रहेकाहरूले नै अवार्ड पाएको उनको भनाइ छ ।