अहिलेसम्म यो स्पष्ट भइसकेको छ कि नेपालका मुख्य राजनीतिक दलहरू यो मान्छन् कि नेपाल नामको जुन यो देश छ नि, यो उनीहरूले कब्जा गरेका छन् र यो उनीहरूको दलगत र अझ व्यक्तिगत बिर्ता हो । भलै स्वयं ती दलहरू पनि मान्छन् कि यसरीे कब्जा गर्नु अनैतिक हो । तर पनि यो सम्पत्तिमा असली हक उनीहरूकै छ । किनकि यो उनीहरूले विगतमा लडेर ल्याएको रे । त्यसैले अब उनीहरू यसलाई स्थायी रूपमै कब्जा गर्ने कोशिसमा लागेका छन् ।
‘दलहरूले कब्जा जमाएको यो सम्पत्तिमा हाम्रा लागि केही बाँकी छैन र यो सम्पत्तिको रक्षा गर्ने काम पनि नेताहरूकै मात्र हो’ भन्ने ठानेर नै होला, धेरै नेपालीहरू विदेशतिर भागेका वा उतै लाग्ने तर्खरमा लागेका । किनकि जसको सम्पत्ति हो, त्यो उसैले नै रक्षा गरे भो नि त ।
वास्तवमा यो बडो सुखदायक स्थिति हो । चाहनुभयो भने तपाईंले यसलाई देशभक्ति भन्न सक्नुहुन्छ, राष्ट्रभक्ति पनि भन्न सक्नुहुन्छ । राजनीति पनि भन्न सक्नुहुन्छ ।
दलका आकार प्रकार जे जस्ता भए पनि, विचार र दर्शनमा जे जे भिन्नता भए पनि मत, जनमत र अभिमत जे जस्तो भए पनि उनीहरूले दोहोर्याइरहने एउटा कुरामा भने प्राय: सबै नेताको एकैमत छ कि ‘देशलाई खतरा छ’ । सरकारमा जो पुगे पनि प्रत्येक प्रधानमन्त्री र मन्त्रीहरूले लगभग प्रत्येक दिनजसो रट्ने गरेका छन् कि देशलाई खतरा छ । तर यो स्पष्ट भन्दैनन् कि कोबाट चैं खतरा छ, देशीबाट खतरा छ कि विदेशीबाट खतरा छ, किन खतरा छ ? कुनै बेला गिरिजाबाबु यहाँ ग्य्रान्ड डिजाइन छ भन्थे, त्यो भनेको के हो भन्ने कुरा उनीसँगै मरेर गयो ।
कि यो विदेशबाट अनुदान नामक भीख मागिरहने पासो हो ? कि यो जनतालाई डर देखाएर आफ्नो दुनो सोझ्याइरहने मेसो मात्र हो ? कहिलेकाहीँ यस्तो लाग्छ कि जसरी धान, गहुँ, मकैका बीउ अलग अलग हुन्छन्, त्यस्तै नेताहरूका बीउ पनि अलग अलग हुँदा रहेछन् । कोही हाइब्रिड, कोही लोकल । कोही सच्चा, कोही जोकर । तर कसरी छुट्ट्याउने ? अनि कसका कुरा सही, कसका गलत कसरी पत्याउने ?
हामी सर्वसाधारणलाई लाग्छ कि देशलाई बाढी पहिरो र भोकभरीको खतरा छ । देशलाई अशिक्षा, गरीबी र स्वास्थ्य सुरक्षाको खतरा छ । यो सबै कुरामा देशलाई कतैबाट खतरा छ भने अरूभन्दा केवल नेता नामक जीवहरूबाट खतरा छ । तर नेताहरू ‘सावधान ! देशलाई खतरा छ’ मात्र भनिरहन्छन् ।
राष्ट्रभक्त बन्न के गर्नुपर्छ भनेर नसोध्नुहोला । राष्ट्रभक्त हुन बडो सहज छ । तपाईंलाई भाषण गर्न आए पुग्छ, शासन गर्न जान्नैपर्दैन । नाकको डाँडी भाँचिदिनेदेखि ढाडमा टेकेर टाउकामा हान्ने कुरा गरे पुग्छ । हो, गाली गलोज र उखानटुक्काका शब्दहरूको भण्डार चाहिँ हुनुपर्छ ।
उहिले समले भन्थे ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि’ । तर अहिले देश चुत्थो छैन । राजस्व, खाजस्व प्रशस्तै छ । करबलले कर उठेकै छ । घोडा, गाडी, पुष्पक विमान सबै नेताका हाजिरीमा उपलब्ध छँदै छन् । देशको सम्पूर्ण स्रोतलाई नेताहरूले जसरी चलाउन चाहे, त्यसरी नै आफ्नो बनाउन पाएकै छन् । अनि देशको वैभवलाई आफ्नै खल्तीको बनाउन पाएपछि देशभक्ति त अचाक्ली बढ्नै नै भो नि ।
नेताहरूको सावधानीवाला देशभक्ति भने विभाजित छ । एउटा दल भन्छ, वामपन्थको पथमा गए मात्र देश खतरामुक्त हुन्छ । अर्को, दल भन्छ, वामपन्थको मृत्यु भइसक्यो, देशको खतरा केवल पूँजीवादले मात्र टार्न सक्छ । अर्को दल भन्छ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुनिने प्रणाली आए मात्र देश खतरामुक्त हुन्छ । तर सारमा भन्नुपर्दा प्रत्येक दलको दाबी चैं उसको दल सरकारमा पुगे मात्र देश खतरामुक्त हुन्छ । नत्र देश खतरायुक्त नै रहन्छ ।
साँडेजस्ता दलहरूको विभाजित देशभक्तिको यो लडाइँमा बाछारूपी जनता मिचिएको मिचियै छन्, तिनका दासताबाट किचिएका किचिएकै छन्, गरीबी र अभावबाट थिचिएका थिचियै छन् उठ्नै नसक्ने गरी । तर तिनलाई यसमा बाल मतलब छैन । तिनको चिन्ता त बीआरआई र एमसीसी, युनिभर्सिटीका भिसी र साँझको सिसीजस्ता कुराहरूमा मात्र देखिन्छ ।
एउटा दल बिआरआईलाई अगाडि बढाए मात्र देश खतरामुक्त हुन्छ र देशभक्ति कायम रहन्छ भन्ने ठान्छ । अर्को दल इन्डोप्यासिफिकको लाइन नै ठीक देशभक्ति हो भन्ने मान्छ । कोही उत्तरायण नै स्वर्गको बाटो ठान्छ, कोही दक्षिणायन नै मुक्तिको बाटो मान्छ । तपाईं भन्नुहोला खै के खै के नमिलेकोे, बेमेल जस्तो छ है यो राष्ट्रभक्त वा राष्ट्रवादी हुने कुरा ।
त्यसो भए राष्ट्रभक्त बन्न के गर्नुपर्छ भनेर नसोध्नुहोला । राष्ट्रभक्त हुन बडो सहज छ । तपाईंलाई भाषण गर्न आए पुग्छ, शासन गर्न जान्नैपर्दैन । नाकको डाँडी भाँचिदिनेदेखि ढाडमा टेकेर टाउकामा हान्ने कुरा गरे पुग्छ । हो, गाली गलोज र उखानटुक्काका शब्दहरूको भण्डार चाहिँ हुनुपर्छ । अनि तपाईं महान् राष्ट्रभक्त भइहाल्नुहुन्छ । गर्न नसकिने काम खोक्नुस्, जनताका दिमाग टोक्नुस् तपाईं खाँटी राष्ट्रभक्तमा दरिइहाल्नुहुन्छ । काम चाहिँ सिन्को भाँच्नुपर्दैन । काम गर्नुपर्छ भनेर हाम्रो संविधानमा पनि त लेखेको छैन नि ।
जस्तै, जति नै लगातारजसो झरी दर्किरहे पनि अन्तमा किसानहरूले न्वागी खानसमेत बेसाहाको बोरा घिसार्नुपर्ने नियति वर्षौंदेखि कायमै छ । राजनीतिदेखि खाद्यान्नसम्म, आचारदेखि विचारसम्म, गीतदेखि संगीतसम्ममा परनिर्भरता हाम्रो राष्ट्रिय पहिचान नै बनिसकेकै छ । तर आर्थिक परनिर्भरताको घुम ओढेर पनि नेताहरू आफूलाई अब्बल राष्ट्रवादी देखाउन सफल छँदैछन् क्यारे ।
असारे भाकामा बेसारे नेताहरूले वर्षैभरि एकअर्कालाई विदेशी दलाल, राष्ट्रघाती भन्दै हिलो छ्यापाछ्याप गर्ने भएपछि हिलोले पोतिएको अनुहारमा को सक्कली राष्ट्रवादी को नक्कली कसले छुट्ट्याउने भन्नुहोला । हेर्नुस्, अहिलेको कृत्रिम बौद्धिकताको जमानामा के नक्कली के सक्कली नै नचिनिने भएपछि नक्कली सक्कली छुट्ट्याउने चक्करमै किन लाग्नु पर्या छ र ?
अर्को उदाहरण हेरौं है त । अहिले देशैभरि जनता बाढीपहिरोको मारमा छन् । बाढीमा परेर थातथलो र ज्यान गुमाउनेहरूको बाढी छ । कोरोना महामारीले निम्त्याएको संकट थेग्न नसकेर देशको अर्थतन्त्रमा आएका नकारात्मक बाढीबाट देश अझै बौरिसकेको छैन । किनकि नेताहरूलाई जनता दुख्दैनन् । देश दुख्दैन । अभाव, संकट, बेरोजगारी, बेथितिबाट प्रताडित जनजीवन दुख्दैन । बाढीले बगाएको बस्ती दुख्दैन । पहिरोले जीवन हरेको, भिरालो पाखाहरूबाट झुत्रेझाम्रेहरू झरेको उनीहरू देख्दैनन् । त्यसैले ती नेताहरूलाई दुख्दैनन् । बाढीले निलेका मैदानी भेगका झुपडीहरू दुख्दैनन् । मल, बीउ नपाएर तड्पिएको किसान दुख्दैन । किनकि त्यो राष्ट्रवादमा पर्दैन ।
के दुख्छ त ? सत्ताको लाभ दुख्छ नि । पद दुख्छ । खाइराखेको गुमाइएला कि भनेर पनि दुख्छ । उसले खायो, भ्याउनुसम्म भ्यायो, आफूले नपाइएला कि भनेर दुख्छ । किनकि खानु नै राष्ट्रवाद हो नि त, गरीबको नाममा । प्राकृतिक प्रकोपका नाममा । बेरोजगारका नाममा । औषधिको नाममा । उपचारको नाममा । सुनको नाममा, उनको नाममा । यो पो हो त असली राष्ट्रवाद । विनालगानी नाफा सोहोर्ने सबैभन्दा सहज राष्ट्रिय उद्यम ।
त्यसैले अब त मलाई पनि देशभक्त हुने मन लागेको छ । देशभक्तिको बाटोमा लाग्ने प्रबल इच्छा जागेको छ । कृपया कसैले मलाई पनि यो बताइदिनोस् कि मैले के के गरेँ भने म पनि देशभक्त बन्न सक्छु ? देशभक्ति नगरीकनै कसरी म आफूलाई देशभक्त भन्न सक्छु ?