काठमाडौं । भृकुटीमण्डपमा ‘दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो– २०८१’ आज (बिहीवार) शुरू भएको छ ।
नर्सरी व्यवसायी संघ नेपालले आयोजित उक्त एक्स्पोले समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा विक्री वितरणका लागि राखिनेछ । साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार (उपकरण तथा प्रविधि)का समेत स्टल रहनेछन् ।
एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने र एक करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघको छ ।
मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँचवटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ छ । एक्स्पो चैत ३१ गतेसम्म सञ्चालन हुने छ ।
हेर्नुस् तस्वीरहरू