काठमाडौं । दुग्ध पदार्थ विक्री नभएर मौज्दात थुप्रिँदा डेरी उद्योगीहरूले लामो समयदेखि किसानलाई दूधको बक्यौता रकम भुक्तानी गर्न नसकेको बताउँदै आएका छन् । त्यसरी भुक्तानी गर्न नसक्नेमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको सबैभन्दा धेरै बक्यौता छ । मौज्दात विक्री नभएकै कारण दुग्ध किसानको भुक्तानी रोकिएको दाबीमा राष्ट्रिय दुग्ध विकास बोर्डले भने विश्वास गरेको छैन ।
दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले बुधवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै डेरी उद्योगीले किसानको बक्यौता रकम समयमै भुक्तानी नगर्ने मनसायका साथ मौज्दात थुप्रिएको झूटो तथ्यांक सार्वजनिक गरेको दाबी गरे । कार्यक्रममा बोल्दै यादवले भने, ‘डेरी उद्योगीले दुग्ध पदार्थ मौज्दातको गलत तथ्यांक देखाइरहेका छन् ।
पावर प्वाइन्टमा मात्रै मौज्दात धेरै देखाएर हुँदैन । दुग्ध पदार्थ मौज्दात बढी भयो, विक्री भएन, त्यसैले किसानको बक्यौता भुक्तानी गर्न सकिएन भनेर संवेदना बटुलेर मात्रै हुँदैन । डीडीसी (दुग्ध विकास संस्थान) सँग पनि मौज्दात छैन, नेपाल डेरी एशोसिएशनमा आबद्ध डेरीसँग पनि छैन । डेरी उद्योग संघमा आबद्ध डेरीहरूसँग पनि छैन । त्यसकारण गलत तथ्यांक देखाएर समस्या सृजना नगरौं ।’
विभिन्न बहानामा किसानको भुक्तानी रोक्ने काम भइरहेको भन्दै सरकारलाई समेत घेरामा पार्न खोजिएको आरोप यादवले सहभागी डेरी उद्योगीमाथि लगाए ।
त्यसअघि डेरी उद्योग संघका निर्वतमान अध्यक्ष अरनिको राजभण्डारीले डेरी उद्योग क्षेत्रमा रहेका समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्ने क्रममा निजीक्षेत्रका डेरी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसँग गरी १ हजार ५३० मेट्रिक टन धूलो दूध र ३ हजार २० मेट्रिक टन बटर मौज्दात भएको बताएका थिए ।
उनले प्रस्तुत गरेको कार्यपत्रअनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसँग ८३० मेट्रिक टन धूलो दूध र ७२० मेट्रिक टन बटर मौज्दात छ । त्यसैगरी निजीक्षेत्रको डेरी उद्योग संघमा आबद्ध डेरीसँग ७०० मेट्रिक टन धूलो दूध र १८ सय मेट्रिक टन बटर मौज्दात छ । नेपाल डेरी एशोसिएशनमा आबद्ध उद्योगसँग ५०० मेट्रिक टन बटर मौज्दात छ ।
डेरी उद्योगीहरूले भने बोर्डका कार्यकारी निर्देशक यादवले आफूहरूमाथि लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले डेरी उद्योगीले झूटो तथ्यांक देखाएका हुन् भन्ने बोर्डलाई लागेको भए वाणिज्य विभागलाई नै ल्याएर उद्योगीको गोदाम निरीक्षण गर्न बोर्डलाई चुनौती दिए ।
सरकारले निजीक्षेत्रका डेरीलाई शत्रुवत् व्यवहार गरेको भन्दै उनले सरकारी स्वामित्वको उद्योग समस्यामा पर्दा सरकारले ऋण सहयोग दिने तर निजी डेरी समस्यामा पर्दा सरकार असहयोगी बनेको र उद्योगीमाथि झूटो आरोप लगाउने गरेको उनले बताए ।
‘हामीसँग आजका दिनमा पनि बटर र धूलो दूध गरी २ हजार ५०० मेट्रिक टन दुग्ध पदार्थ मौज्दात छ । कोही किन्न आउँछ भने हामी बेच्न तयार छौं । किसानसँग उधारोमा किनेर ल्याएको सामान गोदाममा राख्न हामीलाई पनि रहर छैन,’ दाहालले भने, ‘बोर्डले उद्योगीमाथि लगाएको आरोपको हामी संस्थागत रूपमै भत्र्सना गर्न चाहन्छौं । साथै उद्योगीसँग मौज्दात छैन भन्ने कुरा पुष्टि गरेर देखाउन पनि बोर्डलाई चुनौती दिन्छु ।’
बोर्डको आरोपलाई डीडीसीले समेत असत्य भनेको छ । डीडीसीका निमित्त कार्यकारी निर्देशक राजेन्द्रप्रसाद अधिकारीले पनि बोर्डले हेर्न चाहे मौज्दात देखाउन सक्ने बताए । बोर्डले दिएको जानकारीअनुसार डीडीसीले किसानलाई दिनुपर्ने बक्यौता करीब १ अर्ब ६६ करोड रुपैयाँ छ । निजीक्षेत्रका डेरीहरूले पनि २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
नेपाल डेरी एशोसिएशनले आफ्नो संस्थाअन्र्तगतका उद्योगीले किसानको भुक्तानी गरिसकेको बताएको छ । डेरी उद्योग संघले भने २ अर्ब रुपैयाँ जति बक्यौता भुक्तानी हुन बाँकी रहेको बताएको छ । सरकारी स्वामित्वको डीडीसीले भने किसानको बक्यौता भुक्तानी गर्न नसक्दा सरकारबाट ६० करोड रुपैयाँ ऋण स्वीकृति पाएको छ ।
दशैंअघि नै किसानको बक्यौता भुक्तानी गरी सक्ने गरी आइतवारसम्म उक्त ६० करोड रुपैयाँ डीडीसीको खातामा आई सक्ने डीडीसीका निमित्त कार्यकारी निर्देशक अधिकारीले बताए ।