काठमाडौं । दुई कारोबार दिन बढेको नेप्से परिसूचक बुधवार (आज) भने घटेर बन्द भएको छ । यस दिन परिसूचक १० दशमलव ७१ अंक घटेर २ हजार २५ दशमलव ३० विन्दुमा झरेको छ ।
त्यसअघि दुई कारोबार दिनमा झण्डै परिसूचक ३२ अंक बढेको थियो । बढेको बजारमा विक्रेता हाबी भएसँगै नेप्से घटेको हो । पछिल्लो समय लगानीकर्ता बजार केही बढ्नेबित्तिकै नाफा बुक गरिहाल्छन् । यस कारण पनि बजार एक-दुई दिन बढ्नेबित्तिकै करेक्सन हुने गरेको छ ।
कतिपय लगानीकर्ताले बजारले उकालो यात्रा तय गर्ने आँकलन गरे पनि बजार यस अनुमानविपरीत भएको छ । चैत मसान्तको दबाब सकिएकाले बजारले माथि लाग्ने लगानीकर्ताको अनुमान थियो ।
लगानीकर्ताले बजार सुधारका लागि नीतिगत परिवर्तन हुनुपर्ने माग गरिरहेका छन् ।
पछिल्लो समय कम्पनीको शेयर मूल्य पनि निकै तल्लो विन्दुमा आएको छ । यस कारण अब बजारमा खरीदकर्ता आकर्षित हुन सक्ने जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत घटेको छ ।
बुधवार ३०८ धितोपत्रको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ५१ हजार ४२० पटकमा रू. ३ अर्ब ४८ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये माण्डु हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० पुगेको हो । त्यस्तै खानीखोला हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २६ प्रतिशत बढेर रू. २४९ पुगेको छ ।
बुधवार सबैभन्दा बढी सिगंटी हाइड्रो इनर्जीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोवारको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७१ मा झरेको छ । त्यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत घटेर रू. १ हजार ३६१ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १२ करोड ५४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२० दशमलव २० कायम भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको रू. ११ करोड १२ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी १ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ५० प्रतिशत घटेको छ । यस समूहका कम्पनीको शेयर मूल्य केही दिनदेखि वृद्धि भएको थियो । कम्पनीको शेयर मूल्य बढेसँगै विक्रेता हाबी भएकाले उक्त समूहको सूचक घटेको हो ।