काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले निष्कासन गर्न लागेको हकप्रद शेयर खरीद गर्न कात्तिक २० गतेसम्म कायम शेयरधनीहरू मात्र योग्य हुने भएका छन् । बलेफी हाइड्रोपावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य भएका हुन ।
हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी यी दुई कम्पनीहरूले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कात्तिक २१ गते बुधवार एक दिन बुक क्लोज गर्दैछन् ।
लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको १० बराबर ५ अनुपातमा अर्थात ५० प्रतिशत र बलेफी हाइड्रोपावरले १ बराबर १ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेका हुन ।
लिबर्टी इनर्जीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७५ लाख कित्ता र बलेफी हाइड्रोपावरले प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल लिवर्टी इनर्जीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।
५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै १ अर्ब ८२ करोड ७९ लाख ७० हजार चुक्तापूँजी रहेको बलेफी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ ।