नेपालका राजनीतिक दलहरूभित्र थुप्रै गुट–उपगुट बनेको कुरा त नौलो भएन । सत्ताधारी दलहरूभित्र मात्र हैन, विपक्षी दलसमेत मिलेर देशमा लुट मच्चाउने तीन नेता नामका गुटका कथा बेग्लै छन् । त्यस्तै, सत्ता गठबन्धन दलभित्र पनि एक से एक गुट–उपगुट बनेका छन् । यी गुट–उपगुटका नामी बेनामी नेताका काम चैं पहिले राष्ट्रियसभा सदस्य र पछि कोशीको सभामुखको कुर्सीमा बस्न वा बसाउनका लागि एकअर्काका कान फुक्नमै व्यस्त थिए । कतिपय कानहरूको चैं एक आपसमा खटपट चलिरहेको थियो । एक कानको कुरा अर्को कानले सुन्न चाहिरहेको थिएन । तैपनि कत्तिको कानमा यो कुरा परेको थिएन । तर मिडियामा भने सधैं कानेखुशी चलिरहन्थ्यो । किनकि मिडिया त हरपल कान ठाडो पारेर बसिरहेकै हुन्थ्यो । कान पनि एउटा हो र चार चारओटा । प्रिण्ट, अनलाइन, रेडियो, टिभी । चार कान भएकाले त मिडियालाई चौथो अंग भन्ने गरिएको ।
दलको एउटा ठूलो गुट सधैं आफ्नो कान ठाडो पारेर राखिरहन्थ्यो कि कहीँ कुनै अन्य दलको दोस्रो गुटको नेताले उसको कार्यकर्ताको कान फुकेर उसको सम्बन्धहरूमा तीतो न छरोस् भनेर । कोरोना काल र त्यसपछि कानहरू यसै पनि धेरै दु:खी थिए । कानमा पहिल्यैदेखि चस्मा झुन्डिरहन्थ्यो । अब त मास्कका डोरी पनि कानलाई चारैतिर बाँधिराख्छन् । कोही त कानमा कलम राख्छन् त कोही सिसाकलम । कानलाई एउटा अच्छाखासा ह्यांगर बनाइएको अवस्था छ । त्यसैले जल्ले जो बोले नि बिचरो कान सुनीमात्र रहन्छ । मुख त प्राय: कानमा तेल हाल्दिएर आफू चैं सधैं बकबक गरिरहन्छ ।
समय निकालेर अब त चौकन्ना अर्थात् सजग हुनुपर्छ कि ? यही सोचेर होला विपक्षी दलका नेताले अरू दलका नेताका कान फुक्न शुरू गरेका छन् । सत्ता नपाएको छटपटी छ नि त ! अरूका कान खुल्लै होलान् भन्ने डरले होला नेताजीहरू वरिपरि बारबेर गर्छन् अर्थात् पर्खाल लगाउन उर्दी जारी गर्छन् । ता कि आफ्ना गोप्य कुरा कसैलाई पनि कानै कान खबर नफैलियोस् भनेर । त्यसैले आफ्नो महल छाडेर, पार्टी अफिस पनि छाडेर, होटल रिसोर्टमा मन्त्रणा गर्न पुग्छन् । तर होटल, रिसोर्टका भित्ताहरूका पनि कान हुँदा रहेछन् । अनि त के ? होटल, रिसोर्टमा भएका गोप्य मन्त्रणा पनि देशका हरेक कान कानमा पुग्छन् अचेल । एक कान, दुई कान, मैदान !
कान र नाक सँगसँगै भए पनि मानसम्मान र प्रयोगमा भने नाकको महत्त्व धेरै भएकाले होला कानलाई हेला भएको छ । नाक राख्छन् । तर कान राख्दैनन् । नाक नकाटियोस् भनेर मान्छे कति सतर्क हुन्छ । तर कान काट्छु भनेर कसम खान भने पछि पर्दैनन् । सुँघ्ने र सुन्ने काम गरे पनि यस्तो भेदभाव किन भनेर कानको गुनासो सधैं छ । मान्छेको जातै बैरी । कान समातेर अब यसो गर्दिनँ, बरु कान काटेर पातमा राख्छु भन्छन् । तर त्यही काम बारम्बार दोहोर्याउँछन् ।
नेताका र मन्त्रीका निर्देशनहरू सुन्दा सुन्दा सबैको कानै पाकिसक्यो भन्या ! नपाकोस् पनि किन ? एउटै दलभित्र एक नेताले अर्को नेताको विषयमा गर्ने गरेको विषवमन जारी छ । हिजो काटाकाट आज चाटाचट गरिरहने सत्ता गठबन्धन दलका काम र कुराले जनताको मन भारी भारी छ ।
फेरि, नेपालीहरू कान भर्न खप्पिस हुन्छन् । तर हिजोआज बाध्यता नपरेसम्म कसैले पनि कसैको कुरा सुन्दैन । त्यसैले ठूला भनिएका नेताले जे भने पनि आफ्नै निजी गुटका नेताले समेत एउटा कानबाट सुनेर अर्को कानबाट बाहिर निकालिदिन थालेका छन् । अहिले त स्थिति यस्तो छ कि कसैलाई केही काम गर्न भन्यो भने उसको कानमा त पर्छ । तर कानमा एक मन तेल भरिएकोले होला नेताका कुरा सुने पनि नसुनेजस्तो नै भइराछ । यो केवल ठूलाले भनेको साना नेता वा एउटा गुटका नेताले भनेको कुरा अर्को गुटका नेताका कानमा नपर्ने मात्र हैन । यो प्रवृत्ति सबै ठाउँमा देखिन्छ । चाहे प्रधानमन्त्रीले मन्त्रीहरूलाई वा मन्त्रीहरूले कर्मचारीहरूलाई ‘यसो गर, उसो गर’ भनेर निर्र्देशन त दिन्छन्, उनीहरूको कानमा पनि पर्छ । तर कानमा प्राय: तेल भरिएको हुने हुँदा उनीहरूले वास्तविक रूपमा सुनेकै हुँदैनन् । नसुनेपछि काम गर्ने कुरा पनि आएन ।
हुन त सुने पनि नसुनेजस्तो गर्नुपर्ने बाध्यता पनि बन्दै गएको छ देशमा । नेताका र मन्त्रीका निर्देशनहरू सुन्दा सुन्दा सबैको कानै पाकिसक्यो भन्या ! नपाकोस् पनि किन ? एउटै दलभित्र एक नेताले अर्को नेताको विषयमा गर्ने गरेको विषवमन जारी छ । हिजो काटाकाट आज चाटाचट गरिरहने सत्ता गठबन्धन दलका काम र कुराले जनताको मन भारी भारी छ । जस्तै, कांग्रेसले सार्वजनिक संस्थानहरू निजीकरण गरेको जस लिइरहने गरेको छ । तर, कांग्रेसकै बुई चढेर प्रधानमन्त्री बनेका माओवादी नेता भने निजीकरणकै कारण औद्योगिक वातावरण बिग्रिएको भनिरहेका छन् । अब कस्को कुरा चैं पत्याउने ? अनि उनीहरूको कुरा अरूले किन र कसरी सुन्ने ? अब त स्थिति यस्तो भैसकेको छ कि नेताले बोलेको सुन्नासाथ मानिसहरूले कानमा कपास कोच्न थालेका छन् । तर कार्यकर्ताहरूको यो बाध्यता यो छ कि नेताले भनेको उनीहरूको कानले सुनेको र सोही अनुसार अरूको कान भर्न गएको नाटक चैं गर्छन् । नेताको कुरा कानले नसुने पनि अनुमान गर्न सक्ने हनुमानहरू छउन्जेल नेता सच्चिनेवाला छैनन् । तर हिजो नेताहरूले देशमा गरीबी हटाएर समृद्धि ल्याउने, नत्र आफ्नो कान काट्ने कुरा गर्थे । पछि त कान हैन, अरूको टाउको, हातखुट्टा पो काट्न पुगेछन् । हुँदा हुँदा अहिले त जनताको गाँस र बास काट्नेसम्म पुगेछन् । त्यै भएर युवाहरू देशको सीमा काट्न तल्लीन छन् ।
देशैभरिका सरकारी जमीन मालपोतका कर्मचारी, सत्ताधारी र सत्ताका नजिकका व्यापारीले हत्याउने खेल जारी छ । नेताहरूले भित्रभित्रै गरिरहेका कतिपय कुकृत्यहरूका कुरा त अझ मानिसहरूको कानमा परेकै छैन । जुन दिन वास्तविक कर्तुतहरू सबै मानिसहरूका कानमा पर्छन्, त्यो दिन के होला अनुमान गर्न गाहो छ । अहिले त एकथरी नेताहरूको मुख, अर्काथरी नेताहरूका कानमा व्यस्त छन् । सबै नेताहरू लोकतन्त्रको जितको कुरा गर्न अभ्यस्त छन् । यो कुरा सुन्दा सुन्दा भोटरहरूका कान पाकेर तल जमीनमा झरेका छन् । जुन भोटरका कान अझै झरेका छैनन् ती कानहरूलाई नेताहरूले एक न एक दिन कोपरी कोपरी तल झार्ने नै छन् । तर त्यस दिन चाहेर पनि कसैले आफ्ना कान र नाक जोगाउन सक्ने छैनन् । सबैलाई चेतना भया !