काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट दिएको बोनस शेयर हालसम्ममा पनि सूचीकृत गराएको छैन ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने घोषणा थियो । उक्त लाभांश कम्पनीको २०७८ असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको थियो ।
साधारण सभाले पारित गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि बोनस शेयर सूचीकृत नहुँदा लगानीकर्ताले गुनासो गर्न थालेका छन् । कम्पनीले मर्जर तथा प्राप्तिका कारण बोनस शेयर सूचीकृतमा ढिलाइ भएको जानकारी दिएको छ । यस डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्झौता भएको थियो ।
पछि यी दुई कम्पनीबीच केही आपसी समझ्दारी नमिल्दा मर्जर तथा प्राप्ति भाँडिएको थियो । यसले गर्दा पनि कम्पनीको बोनस शेयर सूचीकृतमा ढिलाइ भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अब आवश्यक प्रक्रिया पूरा गरेर बोनस शेयर सूचीकृत गराउने प्रक्रिया थाल्ने बताएको छ ।
हाल यस डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । गत असोज १४ गते प्राप्ति गर्ने समझदारी पत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।