काठमाडौं। एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न भन्दै छूट योजना घोषणा गरेको छ । बैंकले २०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरणमा परेका कर्जाको हकमा यो व्यवस्था गरेको हो ।
बैंकले यस्ता ऋणीले २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा भुक्तान गरेमा यस अवधिसम्मको जरीवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट र ब्याज रकममा समेत छूट दिइने बताएको छ । बैंकका अनुसार ब्याजको हकमा कमसल कर्जामा १०, शंकास्पदमा १५ र खराब कर्जामा २० प्रतिशत छूट दिने बैंकले जानकारी दिएको छ ।
बैंकले ल्याएको यस छूट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न सहयोग पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको अपेक्षा छ ।