काठमाडौं । कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का कारण नेपालका दुई ठूला टेलिकम कम्पनीको व्यापारसमेत उल्लेख्य बढेको छ ।
सरकारी स्वामित्वको नेपाल टेलिकम र निजीक्षेत्रबाट सञ्चालित एनसेलका अनुसार एनपीएललाई लक्ष्य गरेर ल्याइएको डेटा प्याकको खरीद व्यापक बढेको छ । एनसेल प्रतियोगिताको सहायक प्रायोजक र लुम्बिनी लायन्स टीमको शीर्ष प्रायोजक हो । नेपाल टेलिकमले भने सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गरेको छ ।
एनसेलका अनुसार एनपीएल लक्षित डेटा प्याकेजको विक्री भारी मात्रामा बढेको छ । ‘हाम्रो सधैं अन प्याकेजअन्तर्गत उपलब्ध गराइएको युट्युब अनलिमिटेड प्याकेजमा भारी आकर्षण छ,’ कम्पनीेले लिखित रूपमा आर्थिक अभियानलाई भन्यो, ‘यो प्याकेजअन्तर्गत ग्राहकलाई अतिरिक्त बिल आउने सम्भावना पनि रहँदैन ।’
एनसेल
- एन्थम पीआरबीटी : रू. ३१ (३० दिनसम्म)
- एनपीएल १ जीबी
- सधैं अन प्याक
- रू. ३९९ देखि रू. १ हजार ४०० सम्मको प्याक
नेपाल टेलिकम
- प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६०० रुपैयाँमा ३०० जीबी डेटा, जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिने
- ४०० रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा
एनसेलका अधिकारीहरू सधैं अन प्याकअन्तर्गत ३९९ रुपैयाँदेखि १ हजार ४९९ रुपैयाँसम्मको कुनै पनि प्याक खरीदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाइरहेको बताउँछन् ।
कम्पनीका अनुसार ग्राहकले एनपीएल स्ट्रिमिङ सेवाका लागि सस्तोमा इन्टरनेट पाउने व्यवस्था गरिएको छ । यस्तो स्ट्रिमिङ सेवा एनसेल एपमार्फत प्राप्त हुन्छ । एनसेलले डिजिटल मिडियामार्फत एनपीएल प्रसारण गर्ने अधिकार पाएको एक्सन स्पोर्ट्स च्यानलसँग साझेदारी गरेको छ । यसका लागि पुरानै प्याकलाई परिवर्तन गरी सस्तोमा भ्वाइस, डेटा र एसएमएस सेवा सस्तोमा पाउने व्यवस्था गरिएको छ । कम्पनीले एनपीएलले गर्दा इन्टरनेट ट्राफिक पनि उच्च दरमा वृद्धि हुँदै गएको बताएको छ ।
यससँगै ग्राहकले अतिरिक्त डेटा शुल्कबारे चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्ने गरी एनसेलले प्याक दिइरहेको छ ।
यसका साथै कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुन सक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मार्टसेललगायत उपकरणका साथै क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान फाइबर टु द होम नि:शुल्क जडानसमेत गरिरहेको एनसेलका अधिकारीहरूले बताएका छन् ।
नेपाल टेलिकमले एनपीएल लक्षित दुईओटा प्याक ल्याएको थियो । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार अरु प्याकभन्दा ती प्याक विशेष बनाइएका छन् । फलस्वरूप ती डेटा प्याक खरीदमा प्रयोगकर्ता झुम्मिँदा टेलिकमको व्यापार उल्लेख्य बढेको छ ।
एनपीएललाई दृष्टि गर्दै नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ६०० रुपैयाँमा ३०० जीबी डेटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन १० जीबी डेटा प्रयोग गर्न सकिन्छ र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने प्याक छ ।
यसैगरी ४०० रुपैयाँमा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डेटा उपलब्ध भइरहेको छ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता ढकाल भन्छन् ।
पोस्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टलसमेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि राखिएको छ । २०८१ मङ्सिर १४ देखि आगामी पुस ६ गतेसम्म लागू भइरहेको एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत उपभोक्ताले खरीद गरिरहेका छन् ।
नेपाल टेलिकमका प्रवक्ता ढकालले एनपीएलका खेलहरू सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकून् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको र ती प्याकमा खरीदकर्ताको आकर्षण उल्लेख्य रहेको बताए ।
नेपाल टेलिकम सुदूरपश्चिम रोयल्सको प्रायोजक हो । त्यससम्बन्धी समझदारीपत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका थिए ।
त्यस क्रममा प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको बृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको र नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै सुदूरपश्चिम रोयल्समार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताएकी थिइन् । एनसेलले ल्याएको एनपीएल लक्षित प्याकमा पनि खरीदकर्ता झुम्मिएका छन् । एनसेलले आर्थिक अभियानलाई दिएको जानकारीअनुसार उसले सार्वजनिक गरेको एपीएल प्याकहरू अत्यधिक विक्री भइरहेका छन् । ‘एनसेलले सधैं अन, डेटा र भ्वाइस गरी तीनओटा आकर्षक एनपीएल फ्यान प्याक सञ्चालनमा ल्याएको छ,’ एनसेलका एक उच्च अधिकारीले भने, ‘हामीले सोचेभन्दा राम्रो तवरले ती प्याकहरू खरीद भइरहेका छन् ।’ ती प्याकहरू दैनिकरूपमा सयौंले खरीद गरिरहेका छन् ।