काठमाडौं। निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरीदविक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले उक्त प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पेश गरेका हुन् ।
एनसेलको शेयर यसअघि पनि विभिन्न कम्पनीमार्फत विदेशमा अपारदर्शी कारोबार भएकाले कम्पनीले कर छलेको हुन सक्ने अनुमान समितिको छ । यस विषयमा थप अध्ययन गरेर निर्णय लिनुपर्ने सुझाव समितिको छ ।
समितिले यसअघि पनि एनसेलको शेयर १४ पटक खरीदविक्री भएको र त्यो खरीदविक्री नेपाल बाहिर भएको बताएको छ । त्यो खरीदविक्री पनि नेपालको बैंकिङ प्रणालीबाट नभएको देखिएकाले त्यसमा कर छल्ने नियत बुझ्न सकिने छानबिन समितिको ठहर छ । समितिका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । कम्पनीले ६८ करोडभन्दा रुपैयाँ बढी लाभांश विदेश लगेको समितिको अध्ययनले देखाएको छ । समितिका अनुसार विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भुक्तान गर्नुपर्नेछ ।
खरीदविक्री नेपालको बैंकिङ प्रणालीबाट नभएको देखिएकाले त्यसमा कर छल्ने नियत बुझ्न सकिने छानबिन समितिको ठहर
सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिएको र खरीदकर्ताको क्षमता तथा व्यावसायिक पृष्ठभूमि बलियो नभएकाले शेयर खरीदविक्रीको सम्झौतालाई स्वीकार गर्न नसकिने र यसको यथार्थ अध्ययन गरी नेपाल सरकारले आवश्यक निर्णय लिनुपर्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
एनसेलको ८० प्रतिशत सेयर स्वामित्व खरीदविक्रीको विषयमा छानबिन गर्न सरकारले छानविन समिति गठन गरेको थियो । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव फणीन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । गत कात्तिकमा आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके नामक कम्पनीलाई साढे ६ अर्ब रुपैयाँमा विनाअनुमति विक्री गरेपछि यो विषयको अध्ययन गर्न सरकारले समिति गठन गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।