काठमाडौँ । एन.सि.एग्रो टेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा विक्रीको जिम्मेवारी पुरा गर्ने गरी विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो । चैत ३ गते कम्पनी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडबीच विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यापिटलको कार्यालय नक्साल, काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच एन.सि.एग्रो टेक इन्डष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ । २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यो कम्पनी सञ्चालनमा रहेको छ । कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियान अन्तरगत : कृषि उत्पादन भई खेर गएका सामाग्रीको स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने तथा औषधीय महत्त्व बोकेका च्याउ उत्पादन गर्दै आएको छ ।
कम्पनीले यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला आदी च्याउहरू तथा यी च्याउहरूका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाइ देश बाहिर समेत निर्यात गरिरहेको छ । साथै च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप तथा क्यान मशरुम आदि बनाउनुको साथै गोब्रे च्याउ उत्पादन गर्नको लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरीका किसान तथा ठूला व्यवसायिक कृषकहरूलाई बिक्री वितरण समेत कम्पनीले गर्दै आएको छ ।
यस कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोस्ट तथा बाँस प्रशोधन गर्दा निस्कने भूषलाई कोइलामा परिणत गरी वातावरण मैत्री संरचनाको समेत निर्माण गरेको छ । नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउ बिजन समेत उपलब्ध गराउने कार्य यस कम्पनीले गर्दै आइरहेको र यसका अलावा अत्याधुनिक स्रोत साधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका बाँसका अन्य बस्तु समेत उत्पादन गर्दै आइरहेको छ ।
त्यस्तै च्याउतर्फको र बाँसका सिन्काको उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने र अन्य औषधीजन्य च्याउहरूको उत्पादन गरी सो पश्चात् खेर जाने फोहोरलाई समेत उच्च गुणस्तरका कोइलामा रुपान्तरण गरी बिक्री/वितरण समेत गर्दै आइरहेको छ । यसको अलावा कम्पनीले खेर गइरहेको कृषी उपजहरू जस्तै: उखुको भूष, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भूष जस्ता वस्तुहरूको प्रयोग गरी च्याउ उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।