काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल इंकको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आइफोन १६ का सिरिज (सेप्टेम्बर ९) सोमबार सार्वजनिक गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित एक कार्यक्रममा आइफोन १६ र आईफोन १६ प्लस सार्वजनिक गरेको हो । विभिन्न रंगमा उपलब्ध यि फोनमा १२८, २५६ र ५१२ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने घोषणा गरेको छ ।
अष्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, जापान, मलेसिया, मेक्सिको, दक्षिण कोरिया, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकालगायत ५८ भन्दा बढी देश र क्षेत्रका ग्राहकले सेप्टेम्बर २० देखि प्रि–अर्डर गर्न सक्नेछन् । मकाउ, भियतनाम र अन्य १९ देश र क्षेत्रकालागि भने यो स्मार्टफोन सेप्टेम्बर २७ देखि उपलब्ध हुनेछ ।
गत वर्ष एप्पलका उत्पादनहरूको विक्रीबाट भएको कुल आय ३८३ अर्ब अमेरिकी डलर मध्ये आइफोनको हिस्सा आधाभन्दा बढी थियो । यी फोनहरु एप्पल इन्टेलिजेन्स, कम्पनीको एआई सफ्टवेयरमा आधारित भएर निर्माण गरिएको छ । जसमा नि: शुल्क सफ्टवेयर अपडेट उपलब्ध हुनेछ ।
एप्पलइन्टेलिजेन्सका थप फिचरहरु यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
आईओएस १८ फिचरहरु जस्तै- सिरी र राइटिङ टुल्सको प्रयोग गर्दा प्रयोगकर्ताहरुले ओपनएआईबाट सजिलै च्याटजीपीटी एक्सेस गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले आगामी वर्षहरूमा चिनियाँ, फ्रान्सेली, जापानी र स्पेनिश सहित अधिक भाषाहरूमा आफ्नो एआई सफ्टवेयर विस्तार गर्ने योजना बनाएको छ।
"आइफोन १६ र आईफोन १६ प्लसले आइफोनका लागि नयाँ युगको शुरूवात गरेको एप्पलका विश्वव्यापी आइफोन उत्पादन मार्केटिङका उपाध्यक्ष केयान ड्रेन्सले भनेका छन्
'एप्पल इन्टेलिजेन्सले हाम्रा प्रयोगकर्ताहरूलाई शक्तिशाली, व्यक्तिगत र निजी अनुभवप्रदान गर्दछ," ड्रेन्सले भने, 'क्यामेराबाट तपाईंको वरिपरिको संसार देखाउने र दृष्यहरू कैद गर्ने नयाँ तरिकाहरूको साथ ४८ एमपी फ्युजन क्यामेरा जसले तपाईंलाई गुणस्तर प्रदान गर्दछ।'
६.१ इन्च र ६.७ इन्चको डिस्प्ले साइजमा उपलब्ध सुपर रेटिना एक्सडीआर डिस्प्लेमा ओएलईडी टेक्नोलोजी र डाइनामिक आइल्याण्डले आकर्षक डिजाइन दिएको छ ।
आइफोन १६ र आईफोन १६ प्लसमा ठूलो ब्याट्री फिट गर्न र कुलिङका लागि आन्तरिक डिजाइन परिवर्तन गरिएको कम्पनीले जनाएको छ । एप्पलले आइफोन १६ र आईफोन १६ प्लसमा एक्सन बटन पनि ल्याएको छ, जसले प्रयोगकर्तालाई केवल एक टचमा विभिन्न प्रकारका फिचर्सहरू सजिलै उपलब्ध गराउने छ
आईओएस १८ लाई सेप्टेम्बर १६ सोमबारदेखि निःशुल्क सफ्टवेयर अपडेटको रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यसैबीच, एप्पलको प्रतिस्पर्धीमध्येको एक चिनियाँ टेक जायन्ट हुवावेले मंगलबार (सेप्टेम्बर १०) मा लन्च हुने आफ्नो ट्राइफोल्ड स्मार्टफोन सेटका लागि ३० लाखभन्दा बढी प्रि–अर्डर प्राप्त गरेको बताइएको छ । सीएनबीसीको रिपोर्टअनुसार कम्पनीले मेट एक्सटीको मूल्य सार्वजनिक गरेको छैन, जसको बिक्री आधिकारिक रूपमा सेप्टेम्बर २० देखि शुरू हुनेछ।