काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष उल्लेख्य मात्रामा खुद नाफा बढाएको हो । यस वर्ष कम्पनीको कुल आम्दानी ३७१ प्रतिशत बढेको छ भने कुल खर्च पनि ३२५ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष ५ करोड ४२ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २५ करोड ५१ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । कुल आम्दानी बढेकाले कम्पनीको खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । खर्च भने गत वर्ष ५ करोड ३५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष २२ करोड ७७ लाख रुपैयाँभन्दा बढी भएको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन रकम ९९० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । गत वर्ष १ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १९ करोड ४८ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको हो । खुद दाबी भुक्तानी पनि उलेख्य मात्रामा बढेको छ । गत वर्ष ९ महिनाको अवधिसम्म १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष १३ करोड ५३ लाख रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी पूँजी बढाएको हो । महाविपत्ति कोषमा तेस्रो त्रैमाससम्म २९ लाख रुपैयाँभन्दा बढी कायम रहेको कम्पनीको अदर इवीटी ३२ लाख रुपैयाँभन्दा बढी र रिटर्न अर्निग १ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ ९३ पैसा छ ।