काठमाडौं । निर्माण सम्पन्न भएको डेढदेखि दुई वर्ष भइसक्दा पनि पोखरा अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेपछि यी विमानस्थल चलाउन समितिमाथि समिति बनाउने क्रम चलेको छ । अघिल्लो सरकारले नेपालका अन्तरराष्ट्रिय विमानस्थलहरू सार्वजनिक–निजी साझेदारी (पीपीपी)मा सञ्चालन र निर्माण गर्ने सम्बन्धमा सुझाव पेश गर्न गत माघमा पूर्वसचिव शंकर अधिकारीको नेतृत्वमा अध्ययन कार्यसमिति बनाएको थियो ।
समितिले गत वैशाखमा बुझाएको प्रतिवेदनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निजगढलाई एउटै परियोजनाको रूपमा अघि बढाउने पहिलो विकल्पको रूपमा प्रस्तुत गरेको थियो भने त्रिभुवन विमानस्थलको सम्पत्ति मुद्रीकरण गरी रकम जुटाई निजगढ विमानस्थल पनि बनाउन सकिने सुझाव दिएको थियो । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि सरकारले पोखरा र भैरहवाको अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सुझाव दिन फेरि एउटा कार्यदल बनाएको छ ।
प्रधानमन्त्री ओलीको समेत सहभागितामा शुक्रवार भएको छलफलपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन भएको हो । सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदललाई विमानस्थल सञ्चालनको योजना ल्याउने गरी जिम्मेवारी दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले उक्त कार्यदलले बिहीवारसम्म सुझावसहितको प्रतिवेदन दिने जानकारी दिए । कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिवहरू बसेर अहिलेसम्म भएका काम कारबाहीको प्रगति संकलन गर्ने र सरकारले गर्ने नीतिगत निर्णयका विषयमा अर्काे बैठकमा छलफल भएपछि कार्यदलले सुझाव दिने बताए । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा साताको चार दिन थाई एयर एसियाले उडान गर्ने स्वीकृति पाएसँगै सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थल समेत सञ्चालनको सुझावका लागि कार्यदल गठन गरेको हो । काठमाडौंबाट सातामा तीनओटा र गौतमबुद्धबाट चारओटा उडान गर्न गत बिहीवार नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई स्वीकृति दिएको थियो ।
प्राधिकरणले ती विमानस्थलमा अन्तरराष्ट्रिय उडानका लागि विभिन्न छूट सुविधा दिए पनि एयरलाइन्स कम्पनीले उडानका लागि खासै तत्परता भने देखाएका छैनन् । अहिले थाई एयर एसियाबाहेक अन्य कम्पनीले उडानका लागि स्वीकृति पाएका छैनन् । २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल उद्घाटनको दिन कुवेतस्थित जजिरा एयरवेजले उडान गरेको थियो । यद्यपि उक्त एयरलाई सन् २०२४ अप्रिलदेखि जजिराले गौतमबुद्धबाट हुने उडान बन्द गरेको छ । पाण्डेका अनुसार उक्त एयरलाइन्सले काठमाडौंमा हुने उडान पनि घटाएको छ ।
शुक्रवारको छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या समाधानका उपाय ल्याउन निर्देशन दिनुभएको छ । दुवै विमानस्थल प्रभावकारी रूपमा सञ्चालनका लागि अध्यागमनलगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाई इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो, त्यही निकायलाई दिन समेत उनले निर्देशन दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको दशकौंपछि २०७९ जेठमा गौतमबुद्ध र सोही वर्षको पुसमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा गरेको अध्ययनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रु परिचालन क्षमताले सन् २०१८ मै सीमा नाघिसकेको थियो । यो विमानस्थलको क्षमता आन्तरिक तथा अन्तरराष्ट्रिय गरेर वार्षिक ५० लाख यात्रुलाई सेवा प्रदान गर्ने छ । सन् २०२३ मै आन्तरिक तथा अन्तरराष्ट्रिय गरेर यो विमानस्थलबाट ८७ लाख यात्रुले सेवा लिएका छन् ।