काठमाडौं । नेपाल राष्ट्र बैंकमा एक महीनादेखि गभर्नर पद रिक्त छ । तर सत्तारूढ शीर्ष राजनीतिक दलबीच सहमति नजुट्दा नियुक्तिमा भइरहेको ढिलाइ लम्बिने देखिएको छ । सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समिति बनाए पनि समितिले गभर्नरको नाम सिफारिस गर्न सकेको छैन ।
खासगरी सत्तारूढ कांग्रेस र एमालेबीचको शीर्ष तहमा सहमति जुट्न नसक्दा अहिलेसम्म समितिको बैठक नै बस्न सकेको छैन । पहिलोपटक पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहेको समिति गठन भएको थियो । तर सो समितिको बैठक नै नबसी पूर्वगभर्नर भट्टराईले वैशाख १० गते राजीनामा दिएका थिए ।
त्यसपछि समितिमा रिक्त सदस्य पूर्ति गर्न नै सरकारलाई एक हप्ता लाग्यो । वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई रिक्त सदस्यमा नियुक्त गरेको छ । गभर्नरका लागि अर्थमन्त्री संयोजकत्वको समितिले तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । तीमध्ये एकजनालाई सरकारले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नेछ । तर समितिले पूर्णता पाएको एक हप्ता भइसक्दा पनि अझैसम्म बैठक बस्न सकेको छैन ।
चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गरेका छन् । एक महीना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उनले सोमवार संसद्मा सरकारको आलोचना गरेका हुन् ।
‘एक महीना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको देख्छु,’ हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हावी भएको आरोप लगाउँदै उनले भने, ‘जनताले सेवा प्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतीकरण भइरहेको छ ।’
प्राविधिक रूपमा कांग्रेस एमाले नेतृत्वको सरकार भए पनि जनताको मस्तिष्कमा सरकार ढले जस्तो भएको दाहालको टिप्पणी छ । उनले भने, ‘मेरो चिन्ता हिजो पनि थियो, आज पनि त्यही भन्छु– सरकारको कार्यशैलीले जनता निराश छन्, लोकतन्त्रमाथि बाहिरबाट भन्दा सरकारकै काम कारबाहीका कारण बढी खतरा पैदा हुने त होइन ?’
सरकार स्वार्थ समूह र बिचौलियाको नियन्त्रणमा चलेको आरोप समेत उनले लगाए । ‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ,’ उनले भने, ‘सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र बिचौलियाप्रति खुलेर समर्पित छ ।’
गभर्नर नियुक्तिकै विषयमा उच्च राजनीतिक तहमा सहमति जुटाउन कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी ओलीबीच आइतवार भेटवार्ता भएको थियो । तर सो विषय टुंगोमा पुग्न सकेन ।
ओलीलाई भेटेको भोलिपल्ट सोमवार देउवाले अर्थमन्त्री पौडेललाई आफ्नो निवास बोलाएर गभर्नरमा सिफारिस गर्ने नामको विषयमा छलफल गरेको अर्थमन्त्रीको निकट स्रोतले बतायो । ‘शीर्ष तहमा करीब सहमति जुटेको छ, यसै हप्ता प्रक्रिया अघि बढ्नेछ,’ स्रोतले बतायो ।