काठमाडौं । देशमा फिक्स्ड ब्रोडब्यान्ड (घर–कार्यालयमा जोड्ने) इन्टरनेट सेवाप्रदायक कम्पनीमध्ये सबैभन्दा ठूलो बजार अंश वर्ल्डलिंकले ओगटेको पाइएको छ ।
नियामक दूरसञ्चार प्राधिकरणका अनुसार २०८१ असारसम्म कुल बजार अंशमध्ये ३२ दशमलव ७१ प्रतिशत वर्ल्डलिंककै छ । यसको ग्राहक संख्या ९ लाख १८ हजारभन्दा बढी छ ।
प्राधिकरणका अनुसार हाल करीब दुई दर्जन इन्टरनेट प्रदायक कम्पनीले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा दिइरहँदा ग्राहक संख्याको हिसाबले वर्ल्डलिंकको वर्चस्व धेरै देखिएको हो ।
२०७९ सम्म वर्ल्डलिंकका ग्राहक ६ लाख ११ हजार थिए । वर्ल्डलिंक पछिल्ला वर्षमा व्यापक रूपमा बजार विस्तार गर्न सफल भएको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष (आव) २०८०/८१ को अन्त्यसम्म वर्ल्डलिंकपछि डिस मिडिया नेटवर्कका सबैभन्दा बढी ग्राहक छन् । डिसको बजार अंश ११ दशमलव ३५ प्रतिशत छ भने ग्राहक संख्या ३ लाख १९ हजार छ । यो कम्पनी पनि छोटो समयमै धेरै ग्राहक बटुल्न सफल भएको देखिन्छ ।
तेस्रोमा ग्राहकका आधारमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बजार अंश ११ दशमलव १३ प्रतिशत रहेको देखिन्छ । नेपाल टेलिकमले फिक्स्ड ब्रोडब्यान्डका अतिरिक्त मोबाइल ब्रोडब्यान्ड सेवा पनि प्रदान गर्दै आएको छ । निजीक्षेत्रको दूरसञ्चार प्रदायक एनसेलले भने मोबाइल ब्रोडब्यान्ड सेवा मात्र दिन्छ ।
इन्टरनेट सेवा लिने कुल मानिसमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट सेवा लिनेको अंश ९१ दशमलव ७२ प्रतिशत छ भने फिक्स्ड इन्टरनेट सेवा लिने ग्राहकको अंश ८ दशमलव २६ प्रतिशत रहेको प्राधिकरणले बताएको छ ।
फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा दिने कम्पनीमध्ये सुबिसु केबल लिमेटेड बजार अंशको आधारमा चौथो नम्बरमा छ । उसको अंश ८ दशमलव ८८ प्रतिशत छ । त्यसपछि क्रमश: भायनेट, क्लासिकटेक, वेबसर्फर नेपाल, टेकमाइन्ड्स, सिजी नेट ग्राहक संख्याका हिसाबले बढी बजार ओगट्न सफल भएको तथ्यांकमा देखिन्छ ।
वर्ल्डलिंकले आफ्नो बजार बढे पनि सक्रिय ग्राहकको संख्या बढ्न नसकेको बताएको छ । ‘कोभिडमा वर्क फ्रम होम लागू भएपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ठूलो मात्रमा वृद्धि भयो तर त्यो संख्या दिगो हुन सकेन,’ वर्ल्डलिंकका एक अधिकारीले भने । बजारमा मन्दीका कारण क्रयशक्ति घट्दा इन्टरनेटमा खर्च गर्ने मान्छेको बजेट कम हुँदै गएको उनको आकलन छ । प्रत्येक वर्ष इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गए पनि सेवा प्रदायकबीच गुणस्तरमा प्रतिस्पर्धा नहुँदा उपभोक्ता सन्तुष्ट छैनन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवाप्रदायकप्रतिको ८० प्रतिशत गुनासो यसको सुस्त गतिसम्बन्धी हुन्छ । इन्टरनेट बाँडेर उपयोग (नेटवर्क शेयरिङ) गर्दा सुस्त हुने, सेवामा अवरोध आउनेलगायत गुनासो धेरैले गर्ने गरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
‘इन्टरनेट कम्पनीले एउटा ग्राहकलाई दिने भनेको १०० एमबीपीएस इन्टरनेट ८ जनालाई बाँड्ने गरेको जस्ता गुनासा गुनासा आउने गरेका छन्,’ ती अधिकारीले भने, ‘हामीले इन्टरनेट प्रदायकलाई सचेत गराउने गरेका छौं ।’
त्यसो त, हालसम्म देशका आधाभन्दा कम घरपरिवारमा मात्रै इन्टरनेटको पहुँच पुगेको सरकारी सर्वेक्षणले देखाउँछ । सर्वेक्षणअनुसार यसमा पनि गरीब र गरीबीको रेखाभन्दा माथि रहेकाहरूबीच इन्टरनेट पहुँचमा ठूलो असमानता देखिएको छ । गरीब घरपरिवारमध्ये ९ दशमलव ५ प्रतिशतमा मात्रै इन्टरनेटको पहुँच पुगेको छ । गरीबीको रेखामाथिको जनसंख्यामा भने ४५ दशमलव ७ प्रतिशतसँग इन्टरनेटको पहुँच रहेको राष्ट्रिय तथ्यांक कार्यालले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
उसले प्रकाशन गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३’ अनुसार नेपालका ३९ दशमलव ७ प्रतिशत घरिपरिवारमा इन्टरनेटको पहुँच छ । शहरी क्षेत्रमध्ये काठमाडौं उपत्यकामा ७९ दशमलव ३ प्रतिशत घरिपरिवारमा इन्टरनेट उपलब्ध रहेकामा काठमाडौं उपत्यकाबाहेकका शहरी क्षेत्रमा ४३ दशमलव २ र ग्रामीण क्षेत्रका १७ दशमलव ४ प्रतिशत घरपरिवार इन्टरनेटको पहुँचमा छन् । यसले शहरी र ग्रामीण भेगमा विद्यमान डिजिटल पूर्वाधारको पहुँचमा रहेको असमानता दर्शाउँछ । कम्प्युटर वा इन्टरनेटमा पहुँच हुने र नहुनेबीचको खाडल जीवनस्तर सर्वेक्षणले जटिल अवस्थाका रूपमा प्रस्तुत गरेको थियो ।