घरेलु मदिरामा विरोधाभास

Share News

संघीय सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा घरेलु मदिरा उत्पादन, ब्रान्डिङ, बजारीकरण तथा विक्री गर्न कानूनी व्यवस्था मिलाउने भनी घोषणा गरिए पनि अहिले सरकार यसको उत्पादन र विक्रीमा कडाइ गर्न लागेको छ । यसलाई कानूनी नियमनमा ल्याउने कुरा बताएको सरकारको व्यवहारचाहिँ ठिक उल्टो देखिन्छ । यसले सरकारको कथनी र करनीमा विरोधाभास देखाउँछ । मदिरा ऐन–२०३१ ले घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । त्यसैले यसको उत्पादन र प्रयोग गैरकानूनी हो । यही गैरकानूनी उत्पादन रोक्न सरकारले बल प्रयोग गर्ने गरेको छ र शान्तिसुरक्षामा खटिने सुरक्षाकर्मीको समय घरेलु रक्सी खोजेर नष्ट गर्नुमा बितेको छ । सरकारले जति नै प्रयास गरे पनि यसको उत्पादन र उपभोगमा कमी आएको छैन । हो, घरेलु मदिरा कतिपय अवस्थामा विषालु भएर कतिपयको ज्यान गएको पनि पाइन्छ । यसो हुनुमा घरेलु मदिरा उत्पादनको निमयन नहुनु हो । त्यसमा प्रयोग हुने कच्चा पदार्थ जे पायो त्यही प्रयोग गर्ने, सस्तोमा उत्पादनका लागि युरिया आदि अखाद्य वस्तुको प्रयोग गर्ने आदि कारणले मदिरा विषाक्त हुन पुगेको हो । अन्यथा नेपाली घरेलु मदिराको उत्पादन निकै परम्परागत रहेको छ र त्यो मदिराको अलग पहिचान पनि छ । मदिराका पारखीहरूका लागि यो अलग स्वाद मन परेको पनि पाइन्छ । तर, सरकारले यसको उत्पादनमा रोक लगाउँदा विकृति थपिएर गुणस्तरहीन मदिरा उत्पादन र विक्री भइरहेको पाइन्छ । 

सरकारले घरेलु मदिरा उत्पादनलाई गैरकानूनी भनेर प्रतिबन्ध लगाए पनि सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म घरेलु मदिरा उत्पादन गर्न पाउने फैसला गरेको थियो । यद्यपि व्यावसायिक उत्पादन र विक्रीवितरणका लागि घरेलु मदिरा वर्जित छ । घरेलु मदिरालाई ब्रान्डिङ गर्न सकिनेबारेमा एक स्वतन्त्र अनुसन्धानसमेत भएको थियो । गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठूलो आर्थिक लाभ मिल्ने देखिन्छ । विकसित देशहरूले पनि आफ्नो स्थानीय मदिरालाई ब्रान्डिङ गरिरहेका छन् । नेपालको स्थानीय शीप, प्रविधि र पहिचानसँग जोडिएको घरेलु मदिरालाई करको दायरामा ल्याएर बजारीकरण गर्नु जरूरी । नेपाल घुम्न आउने विदेशी पाहुनालाई पनि घरेलु मदिरा चखाउने वातावरण बनाउनुपर्छ ।

घरेलु मदिरालाई ब्रान्डिङ गर्ने बारे प्रदेश सरकार र केही स्थानीय सरकारले पनि चासो दिएको पाइन्छ तर त्यसका लागि ठोस काम भने गरेको पाइँदैन । घरेलु मदिरामा रोक लगाउने संघीय कानूनमा सुधार नल्याई यसको ब्रान्डिङ गर्न सकिँदैन ।अहिले सरकार घरेलु मदिरामा कडिकडाउ गर्न लाग्नुमा कर एउटा कारण देखिन्छ । घरेलु मदिराबाट सरकारले कत्ति पनि कर पाउँदैन भने स्वदेशी वा विदेशी मदिरामा उच्च दरको कर लगाइएकाले सरकारले अन्त:शुल्क र भन्सार शुल्क ठूलो परिमाणमा उठाइरहेको छ । घरेलु मदिराका कारण यी मदिराको विक्री घटेमा सरकारको आमदानी घट्छ । व्यवसायीको भनाइमा अहिले यस्तो मदिराको बजार घटेको छ । नेपाली मदिरा उद्योगको उत्पादन पनि घटेको छ । घरेलु मदिरामा कडाइ गरे यस्ता मदिराको बजार बढ्न सक्छ । 

सरकारले कानूनले दिँदैन भनेर घरेलु मदिरा नष्ट गर्दै जाने होइन । घरेलु मदिराको उत्पादन र विक्रीवितरणलाई कसरी नियमनको दायरामा ल्याउने हो त्यसतर्फ लाग्नुपर्छ । त्यसका लागि यसलाई ब्रान्डिङ गरिनुपर्छ । बजारीकरण गरिनुपर्छ । त्यसो भएमा यसको गुणस्तर कायम हुन्छ । अनेक अखाद्य वस्तु मिसाएर घरेलु मदिरा उत्पादन गर्ने काम पनि कम हुन्छ । सरकारले जति नै कडाइ गरे पनि यसको उत्पादन रोक्न सक्दैन भने त्यसको उत्पादनका लागि कानूनी व्यवस्था गरिनु उपयुक्त हुन्छ । यसलाई नियमनको दायरामा ल्याउँदा सरकारले करसमेत प्राप्त गर्न सक्छ तर यसमा विशेष सावधानी भने अपनाउनुपर्छ । जथाभावी उत्पादन गर्न दिनचाहिँ रोक लगाउनु आवश्यक छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।