काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)बीच डिजिटल वित्तीय सेवा तथा ‘एम्बेडेड फाइनान्स मोडल’ अगाडि बढाउन परामर्श सेवा दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्डष्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार विश्व बैंक समूहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रूपान्तरण तथा डेटा म्याचुरिटी मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्र पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता बढाउन रणनीतिक सुझाव प्रदान गर्ने बताइएको छ । साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेल प्रवर्द्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई सल्लाह प्रदान गर्नेछ ।
यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधा रूपान्तरण गरी नवीन र प्रविधिमैत्री सेवाको विकासमा सहज हुने विश्वास बैंकको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकले आफ्ना ग्राहकलाई अन्तरराष्ट्रियस्तरको डिजिटल बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै सम्झौताले बैंकको डिजिटल बैंकिङ प्रवर्द्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँ नयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।