गणपति लघुवित्तको नाफा ६४ प्रतिशत घट्यो, यस्तो छ कारण

Share News

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६४ प्रतिशत कम भएको छ ।

गत आवमा कम्पनीले रू. २८ लाख ८१ हजार नाफा कमाएकोमा चालू आवमा रू. १० लाख ३४ हजारमा सीमित भएको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४१ लाख १५ हजार रहेकोमा चालू आवमा रू. १४ लाख ७८ हजारमा झरेको छ । 

कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. २ करोड ८४ लाख रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ५७ लाख पुगेको हो । 

चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६० पैसा रहेकोमा चालू आवमा २ रुपैयाँ ७३ पैसामा झरेको छ । 

कम्पनीको चुक्तापूँजी रू. १५ करोड १५ लाख छ । कम्पनीले जगेडामा रू. ३ करोड ४७ लाख र रिटेन्ड अर्निङमा रू. २५ लाख ५६ हजार सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६२ पैसा छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।