काठमाडौं । खेतान समूहको गोर्खा ब्रुअरी लिमिटेडमा रहेको ९ दशमलव ९४ प्रतिशत शेयर खरीद गर्न डेनमार्कस्थित बहुराष्ट्रिय कम्पनी कार्ल्सबर्गलाई उद्योग विभागले स्वीकृति प्रदान गरेको छ ।
गत साउनमा नेपालको गोर्खा ब्रुअरी लिमिटेडमा आफ्नो ९० प्रतिशत शेयर स्वामित्व रहेको र बाँकी १० प्रतिशतमध्ये ९ दशमलव ९४ प्रतिशत शेयर खरीद गर्ने सम्झौता भएको पनि कार्ल्सबर्गले घोषणा गरेको थियो ।
बाँकी १ प्रतिशतभन्दा कम शेयर अन्य नेपाली व्यवसायीको नाममा छ । त्यसबेला कार्ल्सबर्गले यो सम्झौताअनुसार शेयर किनबेचका लागि नेपाल सरकारबाट स्वीकृति लिन बाँकी रहेको बताएको थियो ।
उद्योग विभाग र नेपाल राष्ट्र बंैक सम्बद्ध तीन उच्च अधिकारीहरूले कार्ल्सबर्गले यस्तो स्वीकृति प्राप्त गरेको आर्थिक अभियानलाई बताए । ‘कार्ल्सबर्गले विगतमा नेपालमा फिर्ता नलगेको लाभांशबाट खेतान समूहको शेयर खरीद गरेको हो,’ विभाग स्रोतले भन्यो, ‘कार्ल्सबर्गलाई उक्त लाभांश नै नेपालमा पुन: लगानी गर्न अनुमति दिइएको हो ।’
विभागका ती अधिकारीले कार्ल्सबर्गले विगत केही वर्षदेखि नेपालबाट लाभांश विदेश नलगेको जानकारी दिए । राष्ट्र बैंक स्रोतका अनुसार ४ अर्ब रुपैयाँभन्दा बढीमा कार्ल्सबर्गले खेतान समूहको शेयर खरीद गरेको हो ।
उक्त शेयर खरीद गरेपछि गोर्खा ब्रुअरीमा कार्ल्सबर्गको झन्डै शतप्रतिशत शेयर कायम भएको छ । खेतान समूहको शेयर खरीद गरेपछि कार्ल्सबर्गले फिर्ता लैजान सक्ने लाभांश नेपालमै रोकिएको छ । ‘तर, भविष्यमा झन्डै शतप्रतिशतकै लाभांश बाहिर लैजान कार्ल्सबर्गले पाउनेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी तथा विदेशी लगानीमा चलेका कम्पनीको पुन: लगानीलाई पनि विदेशी लगानीकै मान्यता दिन्छ ।
उद्योग विभागका अनुसार नेपालका सम्बद्ध नियामक निकायबाट शेयर किनबेच गर्नेले त्यस्तो कार्यका लागि स्वीकृति लिन निवेदन दिनुपर्छ । विदेशमा किनबेच गरेको भए १ महीनाभित्र अभिलेखका लागि निवेदन दिनुपर्छ । शेयर किनबेचको निर्णय भएपछि कार्ल्सबर्ग र खेतान समूहले स्वीकृतिका लागि उद्योग विभागमा निवेदन दिएका थिए ।
सिंगापुरस्थित कम्पनी कार्ल्सबर्ग (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडले दक्षिण एशियाको लागि खोलेको कम्पनी कार्ल्सबर्ग साउथ एशिया पीटीई लिमिटेडमा रहेको खेतान समूहको ३३ दशमलव ३३ प्रतिशत शेयर पनि खरीद गरेको घोषणा कार्ल्सबर्गले गरेको थियो । यससँगै कार्ल्सबर्ग साउथ एशियामा पनि काल्सबर्गको शतप्रतिशत शेयर कायम भएको छ । शेयरको किनबेच सकिनेबित्तिकै कार्ल्सबर्गको कार्ल्सबर्ग साउथ एशियामा शतप्रतिशत र नेपालको गोर्खा ब्रुअरीमा ९९ दशमलव ९४ प्रतिशत शेयर स्वामित्व रहने कार्ल्सबर्गले विज्ञप्तिमा बताएको थियो ।
प्रस्तावित कारोबारको कुल खरीद मूल्य ७४ करोड ४० लाख अमेरिकी डलर (करीब १ खर्ब रुपैयाँ) छ । उक्त कारोबार सन् २०२४ को चौथो त्रैमाससम्म सम्पन्न गरिसक्ने कार्ल्सबर्गले जानकारी दिएको छ । गोर्खा बु्रअरीले नेपालमा कार्ल्सबर्ग, टुबोर्ग र सानमिगल जस्ता लोकप्रिय ब्रान्डका बियर उत्पादन गर्दै आएको छ ।