सबैलाई थाहा छ, नेपालमा थुप्रै विद्वान्हरू छन् । यिनीहरू देशका विभिन्न समस्या समाधान गर्न र विकास गर्न वर्षौंदेखि लागिरहेका छन् । प्राय: यिनीहरू सभा–सम्मेलनहरूमा घण्टौं भाषण दिइरहेका भेटिन्छन् । वातावरण विनाश रोक्नेदेखि भ्रष्टाचार उन्मूलन गर्नेसम्म, वैदेशिक लगानी भित्त्याउने कुरादेखि बालअधिकारसम्म, पूर्वाधार बनाउनेदेखि जलविद्युत् विकाससम्मका विषयहरूमा यी विद्वानहरू अर्ती दिइरहेका भेटिन्छन् । टीभीको क्यामेरा अगाडि छ भने त यी विद्वान्हरूको अनुहारको हाउभाउ नै झन् अर्कै देखिन्छ ।
उनीहरू फेसबूक र ट्विटरजस्ता इण्टरनेट सामाजिक सञ्जालमा पनि उत्तिकै दह्रो रूपमा प्रस्तुत हुन्छन् । विद्वान्हरू हरेक विषयमा उत्तिकै पोख्त देखिन्छन् । घण्टौं बोेले पनि उनीहरूले भनेको कुराको सार भने बुझ्न गाह्रो हुन्छ । तर, ताली बजाउने दर्शकहरूको कहिल्यै कमी हुँदैन । उनीहरूको हरेक प्रवचनमा एउटा कुरालाई निकै प्राथमिकता दिइएको हुन्छ । उनीहरू हरेक कुरामा आजको आवश्यकता भनेर जोड दिइरहेका हुन्छन् ।
विद्वान्हरू भोलि, अर्को हप्ता, अर्को महीना वा अर्को वर्ष भन्दैनन् । अहिले आज र तत्कालको आवश्यकता भनेर भनिरहेका हुन्छन् । तर, वास्तवमा उनीहरू कुनै पनि कुराको समाधान चाहँदैनन् । यदि कुनै समस्या समाधान भयो भने फेरि यी विद्वान्हरूको विद्वत्ता के काम ? विद्वत्ता छाट्न नपाउँदा विद्वान्हरूका लागि के मज्जा ? त्यसकारण कुनै पनि समस्याको समाधान गर्नमा विद्वान्हरूलाई कुनै रुचि हुँदैन ।
(तीतोमीठोबाट)
वर्ष ८, अंक १२८, शुक्रवार, १२ माघ, २०६९