काठमाडौं । नयाँ दिल्लीले नेपालमा उत्पादित जुत्ता, प्लाइउड र स्यानिटरी प्याड जस्ता वस्तुको भारत निकासी थप केही महीनाका लागि सहज बनाएको छ ।
भारतीयको गुणस्तर प्रमाणपत्र दिने निकाय ब्युरो अफ इन्डियन स्ट्यान्डर्डस् (बीआईएस)ले यी वस्तुको लागि दिएको गुणस्तर प्रमाणपत्र नवीकरणमा ढिलाइ गरेपछि केही महीनादेखि यी वस्तुको निर्यातमा अवरोध पुगेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीका अनुसार भारतले सिमेन्ट र जस्तापाताबाहेक जुत्ता, प्लाइउड र स्यानिटरी प्याडका लागि सन् २०२५ जनवरी अन्तिमसम्म हालको प्रमाणपत्रलाई नै मान्यता दिएको हो । नयाँ दिल्लीको यो कदमले ती वस्तु निर्यातको बाटो खुलेको छ ।
अधिकारीका अनुसार उद्योगी, व्यवसायीलाई ती वस्तु निर्यातमा सहजीकरण गर्दै आए पनि भारतले यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी भने गराएको छैन । ‘यसअघि उद्योगी, व्यवसायीले निर्यातका लागि भारतले इजाजत नदिएको भन्दै गुनासो गरेपछि हामीले निर्यात खुलाउन कूटनीतिक पहल थालेका थियौं ।
अहिले साविकको इजाजतपत्रलाई थप समयका लागि मान्यता दिएपछि उद्योगीहरूले निर्यात गरिरहेका छन्,’ अधिकारीले भने, ‘सिमेन्ट र जस्तापाताको हकमा किन इजाजतपत्रको मान्यता नलम्ब्याइएको हो, यसबारेमा भने औपचारिक रूपमा जानकारी आएपछि मात्रै थाहा हुन्छ ।’
यो अवरोधका कारण चालू आर्थिक वर्षको पहिलो ३ महीनामा भारततर्फ सिमेन्ट निर्यातमा व्यापक गिरावट आएको छ । गत आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा १ लाख ५५ हजार २४८ टन सिमेन्ट भारत निर्यात गरेको नेपालले चालू आवको पहिलो त्रैमासमा १८ हजार ३०८ टन मात्र निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ ।
- अहिलेको गुणस्तर प्रमाणपत्रलाई आगामी जनवरी अन्तिमसम्म मान्यता
- सिमेन्ट र जस्ता पाताको गुणस्तर प्रमाणपत्र नवीकरणमा ढिलाइ कायमै
- दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार
नेपालले विभिन्न नौ थरी विदेशी दुग्ध पदार्थ आयातमा लगाएको प्रतिबन्ध खुलाउन दबाबका रूपमा भारतले गुणस्तर प्रमाणपत्र नवीकरणमा ढिलाइ गरेको यसअघि सरकारी अधिकारीहरूले बताएका थिए । सरकारले दुग्ध पदार्थ आयातको प्रतिबन्ध हटाउने तयारी थालेसँगै भारतले पनि इजाजतपत्रको मान्यता केही महीनाका लागि थप गरेको हुन सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बतायो ।
भारतले गुणस्तर प्रमाणपत्र नवीकरण नगरेर निर्यात नै प्रभावित भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध पदार्थ आयात खुलाउन छलफल थालेको थियो ।
नेपालले हाल पैठारीमा प्ूर्ण रोक लगाएका दुग्ध पदार्थमा चिल्लो हटाइएको दूध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्ल्यूएमपी), एसएमपी, ह्वे र परिवर्तित ह्वे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको गुलियो पारेको वा नपारेको, नौनी (बटर), घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धूलो नपारेको चिज, भुजुरी पारेको वा धूलो पारेका सबै प्रकारको चिज छन् ।
नेपालका पाँचतारे होटेल, वायुसेवा कम्पनी, बिस्कुट र चक्लेट उद्योगहरूले दुग्ध पदार्थ आयात गर्न दिनुपर्ने माग गरेपछि आयात प्रतिबन्ध हटाउन लागिएको मन्त्रालयका अधिकारीले यसअघि आर्थिक अभियानलाई बताएका थिए ।
नेपालका डेरी उद्योगीसँग अर्बौं रुपैयाँको दुग्ध पदार्थ मौज्दात रहन गएपछि सरकारले २०८० फागुनमा अर्को निर्णय नभएसम्मका लागि आयात स्थगन गर्ने निर्णय गरेको थियो । गत साउनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बिमस्टेक सम्मेलनमा भाग लिन भारत जाँदा नेपालले दुग्ध पदार्थ आयातमा प्रतिबन्ध लगाएको विषयमा भारतीय उद्योगमन्त्री पीयूष गोयलले समेत चासो राखेका थिए ।
तर, दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वका कारण लामो बिदा भएपछि दुग्ध पदार्थ आयातमा लागेको प्रतिबन्ध हटाउने विषय खासै अगाडि बढ्न नसकेको कृषि मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले सन् २०१६ मा कानून ल्याएर आयात हुने वस्तुमा भारतीय गुणस्तर मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । जुत्ता, सिमेन्ट, प्लाइउड र स्यानिटरी प्याडजस्ता वस्तुमा भने यो मापदण्ड हालैमात्र लागू गरिएको हो ।
स्यानिटरी प्याड, डाइपर र मास्क उत्पादन गर्दै आएको जस्मिन हाइजिन प्रोडक्ट्स प्रालिका ट्रेड एन्ड सप्लायर्स हेड मधु शाहले पनि करीब २ महीना निर्यात प्रभावित भएपछि भारतले गुणस्तर प्रमाणपत्रको म्याद बढाएको बताइन् ।
‘म्याद बढाइएको बारे औपचारिक जानकारी नदिए पनि आगामी जनवरी अन्तिमसम्मका लागि निर्यात गर्न पाउने गरी समय थप गरिदिएको जानकारी सम्बद्ध निकायले दिएको उनले बताइन् । यसअघि उद्योगी व्यवसायीले पटकपटक यस विषयमा पहल गर्दा पनि सुनुवाइ हुन सकेको थिएन ।
गोल्डस्टार जुत्ता पुन: निर्यात सुचारु हुने
भारतले नेपाली जुत्ता निकासीमा रहेको अवरोध हटाएसँगै लोकप्रिय गोल्डस्टार जुत्ताको निर्यात पुन: सुचारु हुन लागेको उक्त जुत्ताको उत्पादक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्स प्रालिले बताएको छ ।
अन्य कम्पनीका जुत्तासमेत भारत निर्यात भइरहे पनि ठूलो संख्यामा निर्यात हुने गोल्डस्टार हो । किरण सुजका कार्यकारी निर्देशक विदुषी राणाले गोल्डस्टारले गुणस्तर प्रमाणपत्र पाउने वातावरण तय भइसकेको आर्थिक अभियानलाई बताइन् । उनले अर्काे साता यस विषयमा विस्तृत जानकारी आउनेसमेत बताइन् ।
यो वर्ष भारत निर्यात प्रभावित हुँदा आफ्ना अस्थायी कामदारलाई घरमै राख्न बाध्य हुनुपरेको राणाले यसअघि बताएकी थिइन् । उनले नेपाल सरकार, नेपाल–भारत उद्योग वाणिज्य संघलगायत निकायमा निर्यात अवरोध हटाउने पहलका लागि आग्रह गरेकी थिइन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसीले गोल्डस्टारको समस्या समाधानका लागि संघले पहल गरेको र तिहारअघि नै यो समस्या समाधान हुने गरी छलफल भएको जानकारी दिए ।
‘त्यसअनुसार नै अहिले जुत्ता पुन: निकासीको वातावरण बनेको हुनुपर्छ,’ उनले भने, ‘मलाई लाग्छ अब गोल्डस्टार निकासीमा दीर्घकालीन अवरोध आउँदैन । यद्यपि समयसमयमा विभिन्न कारणले अस्थायी अवरोध नहोला भन्न सकिँदैन ।’ पछिल्लो समय भारतीय बजारलाई नै लक्ष्य गरेर कम्पनीले भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग खोल्ने तयारी गरेको छ ।