काठमाडौं । नेपालमै पहिलोपटक कारमा हाइड्रोजन इन्धन रिफ्युलिङको सफल परीक्षण गरिएको छ । काठमाडौं विश्वविद्यालयले धुलिखेलस्थित आफ्नै परिसरमा स्थापना गरेको फ्युलिङ स्टेशनमा आइतवार बिहान हाइड्रोजनबाट चल्ने कारमा हाइड्रोजन इन्धन रिफ्युलिङको सफल परीक्षण गरेको हो । तर, यसलाई व्यावसायिक रूप दिन सरकारले कार्यविधि बनाउनुपर्ने सरोकारवालाको भनाइ छ ।
पछिल्लो समय संसारभर डिजेल विस्थापनको प्रमुख विकल्पका रूपमा हेरिएको हाइड्रोजन उत्पादन र फ्युलिङ स्टेशन निर्माणका लागि विश्वविद्यालयले २ वर्षदेखि अनुसन्धान गरिरहेको थियो । दक्षिण कोरियाली कम्पनीसँगको सहकार्यमा फ्युलिङ स्टेशन निर्माणमा मात्र विश्वविद्यालयले करीब १० करोड रुपैयाँ खर्चेको विश्वविद्यालयले बताएको छ । यो पूर्वाधारबाट दैनिक ३० देखि ३५ ओटासम्म कारमा रिफ्युलिङ गर्न सकिने विश्वविद्यालयको भनाइ छ । आइतवार हुन्डाई कम्पनीको नेक्सन कारमा हाइड्रोजन रिफ्युलिङ गरिएको हो ।
हाइड्रोजनको उत्पादन र निर्यातबाट दिगो आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यअनुरूप सरकारले गत माघमा ग्रीन हाइड्रोजन नीति स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा यसको उत्पादन र निर्यात सम्भावनाको ढोका खुला हुनसक्ने बताइएको छ । तर, हालसम्म नेपालमा हाइड्रोजन इन्धन उत्पादनका साथै कार वा गाडीलाई उक्त इन्धनबाट वैधानिक रूपमा चल्न स्वीकृति दिने खालको कार्यविधि बनेको छैन ।
नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्राडा विराजसिंह थापाले आइतवारको दिन नेपालका लागि महत्त्वूपर्ण रहेको भन्दै यो दिनलाई हाइड्रोजन दिवसका रूपमा बुझ्न आग्रह गरे । यसलाई व्यावसायिक बनाउन सरकारको सहयोग आवश्यक रहेको पनि उनले बताए ।
‘हामीले अहिले काठमाडौं विश्वविद्यालयको परिसरभित्र निजी लगानीमा परीक्षणका लागि मात्रै फ्युलिङ स्टेशन निर्माण गरेका छौं । यसलाई व्यावसायिक रूप दिन सरकारको कार्यविधि आवश्यक छ । हाइड्रोजन ग्यास भण्डारण, रिफ्युलिङ स्टेशन निर्माण, सञ्चालन, हाइड्रोजन सवारीसाधन खरीद तथा सञ्चालनका लागि नेपालमा अझै पर्याप्त ऐन, नियम, कार्यविधिलगायत नीतिगत व्यवस्था नभएकोले व्यावसायिक रूपमा अघि बढ्न समस्या छ । त्यसका लागि सरकारले नै कार्यविधि बनाएर बाटो खोल्नु आवश्यक छ,’ उनले आर्थिक अभियानसँग भने । हाइड्रोजन इन्धनबाट चल्ने गाडी डिजेल र पेट्रोलबाट चल्नेभन्दा फरक हुन्छ । विद्युतीय गाडीमा भने ब्याट्री झिकेर त्यसको सट्टा हाइड्रोजन ट्यांकी राख्न मिल्ने बताइएको छ । यसअघि गत माघ ४ मा मन्त्रिपरिषद् बैठकले ‘ग्रीन हाइड्रोजन नीति २०८०’ स्वीकृत गरेको थियो ।
हाइड्रोजन उत्पादनमा कति लाग्छ खर्च ?
विश्व बजारलाई आधार मान्दा ग्रीन हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी करीब ५ डलर छ । जसमा ५० युनिट बिजुली र १० केजी पानी खपत हुन्छ । प्लान्टको क्षमता कत्रो बनाउने र कति मात्रामा उत्पादन गर्ने भन्ने कुराले पनि यसको लागत निर्धारण गर्ने विज्ञहरूको भनाइ छ । जलविद्युत् उत्पादन बढ्दै गर्दा अन्य देशको तुलनामा नेपालमा यसको उत्पादन लागत अझ कम हुन सक्ने काठमाडौं विश्वविद्यालयको हाइड्रोजन ल्याबले गरेको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनअनुसार नेपालमा प्रतिकेजी १ दशमलव ७ अमेरिकी डलरमा हाइड्रोजन उत्पादन गर्न सकिन्छ । बेलायती अनुसन्धान संस्था पीडब्ल्यूसीले गरेको एक अध्ययनअनुसार नेपालमा ग्रीन हाइड्रोजनको उच्च सम्भावना छ । आगामी दिनमा हाइड्रोजन ग्यास निर्यात गर्न सक्ने प्रमुख राष्ट्रको सूचीमा नेपाललाई राखिएको छ ।
सम्भाव्यता र उत्पादन
हाइड्रोजनलाई आवश्यक पर्ने पानी र बिजुली नेपालमा पर्याप्त भएकाले यसको उत्पादन सम्भावना उच्च रहको सरोकारवाला बताउँछन् । नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे विश्वविद्यालयले गरेको प्रारम्भिक अध्ययनले वर्षायाममा बचत हुने बिजुलीबाट मात्रै सन् २०३० सम्म ३ लाख ५० हजार मेट्रिक टन हाइड्रोजन उत्पादन हुन सक्ने देखाएको छ ।
बिजुलीले पानीलाई टुक्राएर ग्रीन हाइड्रोजन उत्पादन गरिन्छ । उक्त हाइड्रोजनबाट बिजुली निकाल्न सकिन्छ, जसलाई ग्रीन हाइड्रोजन भनिन्छ । यो सामान्य विद्युत्भन्दा सस्तो र राम्रो हुन्छ । त्यसरी निकालिएको हाइड्रोजनबाट सवारीसाधन लगायत मेशिनरी सञ्चालन गर्न सकिन्छ । यो पेट्रोललगायत ऊर्जाका अन्य पदार्थभन्दा प्रदूषणरहित हुन्छ । त्यसकारण पछिल्लो समय विश्वभर ग्रीन हाइड्रोजन उत्पादनमा जोड दिइएको छ । नेपालले कोप २६ मा सहभागी हुँदा सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाइसकेको छ ।