काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत सभामार्फत अन्तिम स्वीकृति दिनेछ ।
बोनस शेयर वितरणपछि चुक्तापूँजी वृद्धि भई १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँभन्दा बढी कायम हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।