हिज्बुल्लाहको उप-प्रमुख नैम कासिम हसन नसरल्लाहको उत्तराधिकारी चयन

Share News

बेरुत । लेबनानको हिज्बुल्लाहले मंगलबार उप-प्रमुख नैम कासिमलाई हसन नसरल्लाहको उत्तराधिकारी चयन गरेको घोषणा गरेको जनाएको छ । नसरल्लाहको गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मृत्यु भएको थियो।

हिज्बुल्लाहको (शासन गर्ने) शूरा परिषद्ले शेख नैम कासिमलाई हिज्बुल्लाहको महासचिवको रूपमा चयन गर्न सहमति जनाएको समाचा एएफपीले उल्लेख  गरेको छ । हिज्बुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशिम सफिउद्दिनलाई सुरुवातमा नसरल्लाहको उत्तराधिकारीको रूपमा हेरिएको थियो। तर, उनी पनि नसरल्लाहको हत्या पछि बेरुतको दक्षिणी उपनगरमा इजरायली आक्रमणमा मारिएका थिए ।

७१ वर्षीय कासिम हिज्बुल्लाहको संस्थापक मध्ये एक हुन ।  उनले हिज्बुल्लाहको उप-महासचिवको भूमिकामा नेतृत्व सम्हालेका थिए ।  सन् १९५३ मा बेरुतमा जन्मिएका  उनको परिवार इजरायलसँगको सिमानामा पर्ने गाउँ कफर फिलाबाट आएको हो । 

२००६ मा इजरायलसँगको युद्ध पछि नसरल्लाह सार्वजनिक रूपमा देखिएका थिएनन् । कासिम भने सार्वजनिक रूपमा देखिने उच्च हिज्बुल्लाह अधिकारी हुन्। सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्यु भएदेखि कासिमले तीन पटक टेलिभिजन सम्बोधन गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।