काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले यस वर्षको लाभांश वितरण गर्न शुरु गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट वितरण गर्ने निर्णय गरे बमोजिमको ५ प्रतिशत नगद लाभांश माघ १३ गतेदेखि वितरण गर्न शुरु गरेको हो ।
उक्त लाभांश कम्पनीको गत पुस २८ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले पारित गरेको थियो । सोही सभाबाट कम्पनीले नगद लाभांशसँगै १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव समेत पारित गरेको थियो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात वितरण गर्ने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले साविकको चुक्तापूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । दोस्रो बजारमा बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन भइसकेको अवस्थामा नेप्सेले उक्त बोनस शेयरलाई पूँजीकरण गरी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ कायम गरिसकेको छ ।
कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरेकाले आफ्नो खातामा आए नआएको यकिन गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गरेकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
पुस १८ गतेसम्म शेयर धितोमा राखी कर्जा उपयोग गरेका सदस्यहरुको हकमा भने सम्बन्धित कर्जा प्रदायक संस्थाको नाममा नै रोक्का राखिएकाले कर्जा फुकवा भए फुकुवा पत्र पेश गर्नसमेत कम्पनीले आग्रह गरेको छ ।