काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५० प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू. ४४ करोड ५० लाख रहेकोमा गत आवमा बढेर रू. ६६ करोड ७९ लाख पुगेको छ ।
गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ७१ करोड रहेकोमा गत आवमा बढेर रू. २ अर्ब ४७ करोड पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले स्पेशल रिजर्भमा रू. १ अर्ब ७४ करोड, महाविपत्ति कोषमा रू. ७ करोड ३७ लाख र रिटेन्ड अर्निङमा रू. ३८ करोडभन्दा बढी सञ्चिति गरेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ३ अर्ब ३९ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेकोमा गत आवमा रू. ३ अर्ब ४७ करोड बीमाशुल्क आर्जन गरेको छ ।अघिल्लो आवको तुलनामा गत आवमा कुल बीमाशुल्क २ दशमलव ४७ प्रतिशत वृद्धि भएको हो ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७२ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ६५ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ८३ पैसा छ ।