अदानचुली । हुम्लाको चीनसँगको सीमावर्ती यारी नाका भन्सार कार्यालय ४ महिनापछि सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० गते बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो । कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा शुरु भएको हो ।
“तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतवारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख जैसीले बताए ।
सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेक काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेको हिउँ हिल्सा-सिमकोट सडक योजनाले पन्छाउन थालेकोले यातायात पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यातायात सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः शुरु हुनेछ । रासस