गाजा पट्टी । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । “इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु अवरुद्ध गरी अस्पतालका भवनहरुलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले वताएका छन् । उनका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका “चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरुमा लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठूलो त्रास निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस महिनाको शुरुमा उत्तरी गाजामा नयाँ आक्रमण शुरू गरेको इजरायलले पुन: समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरु निरन्तरको आक्रमणका कारण पिडादयी अवस्थाको बीचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएकोछ ।
इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ जना महिला समेत रहेका छन् । बम विष्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ .
इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो ।
गाजा पट्टीमा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५०० पुगेका छन् ।रासस/एएफपी