मङ्गलबारे (इलाम) । इलामको सुकिलुम्बा विमानस्थल दुई महीनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो ।
यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।
त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल, इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ ।
नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौं उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतवार र बिहीवार गरी दुई दिन उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सको विमानले उडान शुरु गर्नुअघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए ।
सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए ।
हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरू झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् । रासस