काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको दुई अमेरिकी अधिकारीहरूले आफ्नो साझेदार एजेन्सी सीबीएस न्यूजलाई बताएको उल्लेख गर्दै बीबीसीले समाचार संप्रेषण गरेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमको अपुष्ट रिपोर्टलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् । इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।
धेरै शहरहरूमा उडानहरू निलम्बित गरिएको छ, मिडियाले एजेन्सीहरूले जनाएका छन् । इरानको राज्य प्रसारक आईआरआईबीले आक्रमणको रिपोर्टलाई अस्वीकार गरेको छ र इस्फाहान "सुरक्षित र स्वस्थ" रहेको बताएको छ। इजरायलले शनिबार राति इजरायलमा प्रहार गरेको इरानी मिसाइल र ड्रोनको जवाफ दिने बताएपछि इरान उच्च सतर्कतामा रहेको छ ।
गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । तेहरानले आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको हवाई हमलाको बदला भएको दाबी गरेको थियो जसमा १३ जनाको मृत्यु भएको थियो । बदलास्वरुप इरानले इजरायलमा हवाइ हमला गरेको थियो । इरानले इजरायलमा पहिलो पटक करिब ३०० मिसाइल हमला गरेको थियो ।
सोही कारण रुष्ट रहेका इजरायली सेना प्रमुखलाई उद्दृत गर्दै सेनाका प्रवक्ता डेनियल हगारीले भनेका थिए, 'इरानले धेरै मिसाइल, क्रुज मिसाइल, यूएभी प्रयोग गरेर गरेको आक्रमणको इजरायलले पक्कै जवाफ दिनेछ।' इजरायलले दिएको यो धम्कीको जवाफमा इरानले इजरायली आक्रमणको केही सेकेण्डभित्र जवाफ दिने बताएको थियो । इरानले आवश्यक परेमा पहिले कहिल्यै प्रयोग नगरिएका हतियार प्रयोग गरिने बताउँदै आएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत सोमबार २४ घण्टाभन्दा कम अवधिमा दोस्रो पटक आफ्नो युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । इजरायलमा राष्ट्रिय संकट तथा बाह्य आक्रमण गर्दा वा सुरक्षा निकायका सम्बन्धमा कुनैपनि गम्भिर निर्णय गर्नुपर्दा युद्ध मन्त्रीपरिषद् बैठक बस्ने गर्छ ।
उनीहरूले इरानको आक्रमणको जवाफ दिन बैठक गरेका थिए। इजरायली मिडियाका अनुसार बैठकको मुख्य उद्देश्य इरानको ड्रोन आक्रमणको जवाफ दिन र युद्धविना क्षति पुर्याउनु थियो ।