जापानका भावी प्रधानमन्त्रीद्वारा अक्टोबरमा मध्यावधि निर्वाचनको घोषणा

गत शुक्रवार जापानको टोकियोस्थित लिवरल डेमोक्रेटिक पार्टीको मुख्यालयमा हात मिलाउँदै पार्टीका नवनिर्वाचित अध्यक्ष शिगेरू इशिबा (बायाँ) र प्रधानमन्त्री फुमियो किशिदा (दायाँ) । तस्वीर : एएफपी/रासस

Share News

टोकियो (जापान) । जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि भावी प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनको घोषणा गरेका छन् । उनले आगामी अक्टोबर २७ मा निर्वाचनको घोषणा गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री फुमियो किशिदालाई हटाएर उनी गत शुक्रवार लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को प्रमुखमा निर्वाचित भएका हुन् । पार्टी प्रमुखको लागि भएको मतदानमा उनले २१५ मत पाउँदा उनका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत पाएकी थिइन् । 

जापानको तल्लो सदनमा लिबरल डेमोक्रेटिक पार्टीको बहुमत छ । ४६५ सिट रहेको उक्त सदनमा लिबरल डेमोक्रेटिकको २५८ सिट छ । यो संख्या बहुमतभन्दा बढी हो । 

तल्लो सदनमा एलडीपीसँग बहुमत रहेकाले इशिबालाई मंगलवार संसदले प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नेछ ।

‘नयाँ प्रशासनका लागि जतिसक्दो चाँडो जनताले न्याय गर्नु महत्त्वपूर्ण छ,’ इशिबाले सोमवार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भने ।

पार्टी प्रमुखमा जितेपछि इशिबाले जापानको अर्थव्यवस्थालाई पुनर्जीवित गर्ने, सुरक्षा खतरालाई सम्बोधन गर्ने र एलडीपीलाई सफा गर्ने बताएका थिए। बीबीसी
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।