काठमाडौं । पछिल्लो महीना धितोपत्र दोस्रो बजारमा हुने अडलट कारोबार घट्दो क्रममा छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठमा २० करोड ५७ लाख रुपैयाँभन्दा बढीको २ लाख ८६ हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको हो ।
वैशाखमा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको ३९ लाख ९ हजारभन्दा बढी कित्ता धितोपत्र अडलटमा कारोबार भएको थियो । वैशाखको तुलनामा जेठमा ९० करोड १३ लाख रुपैयाँभन्दा बढीले अडलट कारोबार घटेको नेप्सेको तथ्याङ्कले पुष्टि गर्छ ।
पछिल्लो तीन महीनाको तथ्याङ्क हेर्दा चैतको तुलनामा वैशाखमा पनि अडलट कारोबार घटेको थियो । चैतमा २ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको १ करोड ५२ लाखभन्दा बढी कित्ता अडलट कारोबार भएको थियो । चैतमा चालू आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक रकमको अडलट कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
लगानीकर्तालाई सहजता प्रदान गर्न दैनिकरूपमा धितोपत्र बजारमा अडलट कारोबार गर्ने व्यवस्था भए पनि कारोबारमा भने सहजता नभएकाले पछिल्लो समय यो कारोबार घट्न गएको अनुमान ब्रोकरहरूको छ । नियमित कारोबारमा अडलट कारोबारका लागि नेप्सेले छुट्टै प्लेटफर्म सञ्चालन गरे पनि मार्केट डेप्थमा अडटलको कारोबार तथ्याङ्क नदेखिने भएकाले कारोबारमा असहजता भएको लगानीकर्ताले गुनासो गर्दै आएका छन् ।
मार्केट डेप्थमा तथ्याङ्क सार्वजनिक नहुँदा अनुमानको भरमा अर्डर राख्दा शेयर विक्री नहुने र खरीद मागबमोजिम शेयर नआउने समस्या रहेको अडलटमा कारोबार गर्ने लगानीकर्ताले गुनासो गरेका छन् ।
लगानीकर्ता लक्ष्मण घिमिरेले अडलटका धितोपत्र विक्री गर्न सकिने जानकारी पाएपछि आफैले विक्री गर्न धेरै प्रयास गर्दा सफल नभएको गुनासो गरे । मार्केट डेप्थमा खरीद अर्डर नदेखिने भएकाले अनुमानमा अर्डर राख्दा खरीदकर्ता नभएकाले धेरै पटकको प्रयासमा समेत आफू सफल नभएको घिमिरेको गुनासो छ ।
ब्रोकरलाई आफ्नो समस्याको बारेमा फोनमार्फत जानकारी गराउँदा अडलट कारोबारमा कठिनाई नै रहेकाले थप शेयर खरीद गरी विक्री गर्न सुझाव दिएको घिमिरेले बताए । आफूसँग भएको २७ कित्ता शेयर विक्रीका लागि राख्दा २० कित्ता विक्री भएको र बाँकी ७ कित्ता शेयर पछि विक्री गर्न समस्या हुँदै आएको उनले गुनासो गरे ।
लगानीकर्ताहरूले अडलट कारोबारमा सहज नभएको गुनासो गरिरहँदा बजार सञ्चालक नेप्सेले पनि त्यसलाई स्वीकार गरेको छ । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले अडलट कारोबारको तथ्याङ्क नेप्सेको इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले अडलट कारोबारको मार्केट डेप्थ नदेखाइएको बताउँछन् । आगामी दिनमा लगानीकर्ताको सहजतालाई ध्यानमा राखी नेप्सेले अडलट कारोबारलाई सहज बनाउन सक्ने भनाई पराजुलीको छ ।
लगानीकर्ताहरूले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ । आम लगानीकर्ताको सुविधालाई ध्यानमा राखी २०७९ वैशाखदेखि हरेक दिन अडलट कारोबार गर्न सकिने व्यवस्था नेप्सेले गरेको हो । त्यसअघि धितोपत्र कारोबारमा अडलटसम्बन्धी व्यवस्था रहे पनि शुक्रवार मात्र कारोबार हुने गरेको थियो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी प्रयोजनको इकाई अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता र अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता अडलट कारोबार इकाई हुने व्यवस्था छ ।
त्यस्तै धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य १० रुपैयाँ भएको भए १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ भएको भए १ कित्ता कारोबार इकाई हुने व्यवस्था पनि उक्त विनियमावलीमा गरिएको छ । यस व्यवस्थालाई आधार मान्दा मूल्यका हिसावमा धितोपत्रको अडलट कारोबार इकाई तय गरिएको छ । उल्लेखित कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका व्यक्तिहरूले त्यस्तो धितोपत्रलाई अडलट बनाई कारोबार गर्न नपाउने व्यवस्था छ ।
वैशाख र जेठको अडलट कारोबार कित्ता र रकम
महीना | अडलट कारोबार कित्ता हजारमा | अडलट कारोबार रकम रू. १० लाखमा |
जेठ | 286.11 | 205.78 |
वैशाख | 3909.02 | 1107.08 |
फरक | -3622.91 | -901.3 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।