काठमाडौं। सहकारीको रकम अपचलन गरेको आरोप लागेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रहेका जोशीलाई प्रहरीले आइतवार काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याएको छ । उनीमाथि लागेको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी आरोपको छानबिन गर्ने प्रहरीले बताएको छ ।
उनी पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि पक्राउ पर्ने हल्लाबीच उक्त पार्टीको केन्द्रीय कार्यालयमा आइतवार साँझ समर्थकको ठूलो भीड लाग्यो । लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विषेश समितिले आफ्नो प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने गराउने कार्यमा अध्यक्ष गीतेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेकाले प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने उल्लेख छ ।
आइतवार साँझ पार्टी मुख्यालयमा जम्मा भएका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले संसदीय समितिले सहकारी ठगीमा आफूलाई निर्दोष मानेको दाबी गर्दै सत्ताधारीले आफूलाई निरन्तर लखेटिरहेको र मुद्दा माथि मुद्दा हाली गलाउन खोजेको बताए । ‘मलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी नगरिएको भनिएको छ तर यसमा ढुक्क हुने ठाउँ
छैन,’ उनले भने ।
जोशी पक्राउ परेपछि गोर्खा मिडियामा साझेदारसमेत रहेका लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीमाथि दबाब छ । यसैबीच पोखरा प्रहरीले लामिछानेलाई पक्राउ गर्न आइतवार अदालतबाट अनुमति नलिएको जानकारी दिएको छ ।