पूर्वी पहाडको किसानको आम्दानीको एउटा प्रमुख माध्यम मानिएको अलैंचीले यस वर्ष राम्रो मूल्य पाएको छ । कुनै वर्ष मूल्य नपाएर निराश भएका किसान अहिले बढी मूल्य पाउँदा दंग त छन् तर झन्डै दोब्बर मूल्य बढे पनि उत्पादन न्यून हुँदा कुल विक्री रकम भने घटेको छ । कालो सुन उपनाम पाएको अलैंची विगतमा जस्तो आकर्षक बनिरहेको छैन । यसको खेती विस्तार गरेर मनग्य लाभ लिन सकिने भनिए पनि अहिले कतिपय किसानले अलैंची खेती छाडेको समेत पाइन्छ ।
पूर्वाञ्चलका केही जिल्लाबाट शुरू भएको अलैंचीखेती हाल आएर मुलुकका करीब ४० जिल्लामा विस्तार भएको छ । करीब १४२०६ हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ । जसमध्ये ११६६५ हेक्टर क्षेत्रफल उत्पादनशील अवस्थामा रहेको अनुमान गरिएको छ । करिब ६ हजार मेट्रिक टन अलैंची उत्पादन भइराखेको अनुमान छ । ५ मेट्रिक टन अलैंची भारतलगायत समुद्रपार देशहरूमा निर्यात भएको थियो । अलैंचीको मुख्य बजार भारत नै हो तर भारतले आफ्नो देशमा पर्याप्त उत्पादन भए नेपाली उत्पादनको गुणस्तर आदिमा प्रश्न उठाएर नकिन्ने गरेको छ भने उता उत्पादन घट्दा बढी मूल्यसमेत तिर्ने गरेको छ । अलैंचीको बजार स्थिर नहुँदा विगतमा यसको खेतीमा आकर्षित भएका किसान अहिले निराश हुन थालेका छन् र कतिपयले खेती गर्न छाडेका पनि छन् । त्यही भएर अघिल्लो वर्षको दाँजोमा यस वर्ष उत्पादन आधा घटेको छ । रोगकीराले आक्रमण गरेकाले र पानी कम परेकाले अलैंचीको उत्पादन घटेको देखिन्छ । बढ्दो जलवायु परिवर्तनको असर पनि अलैंचीखेतीमा परिरहेको छ । हरेक वर्ष मूल्यमा हुने उतारचढाव र रोग कीराको प्रकोपले गर्दा किसानमा पछिल्लो समय अलैंची खेतीप्रतिको निराशा बढ्दै गएको पाइन्छ ।
कति उचाइमा कस्तो अलैंची उत्पादन हुन्छ, कुन रोगलाई कस्तो उपचार गर्ने भन्ने विषयमा किसानलाई पर्याप्त मात्रामा जानकारी दिने प्राविधिकको अभावसमेतले गर्दा उत्पादन घट्दै गएको हो । बजारप्रणाली विकास नहुनु, ग्रेडिङ नहुनु र न्यून बजार अनुसन्धानले अलैंचीखेती समस्यामा परिरहेको छ । दिगो बजारको अभाव अलैंचीखेतीका लागि चुनौती नै हो । अहिलेसम्म भारत नै अलैंचीको एकल बजारजस्तो छ । रोग–कीरा, जनावरको समस्या, न्यून प्राविधिक सेवा, कमसल बीउ, वित्तीय पहुँचमा कठिनाइजस्ता चुनौती अलैंचीले खेपिरहेको छ । दक्ष जनशक्ति नहुँदा धेरै किसानको एक सालको अलैंची टिप्दा अर्को साल फल्ने बिरुवा बिग्रने गरेको समेत पाइन्छ ।
अलैंची उत्पादनमा मात्रै होइन, उत्पादित अलैंचीको बजारीकरणमा पनि समस्या छ । नेपालमा अलैंचीको प्रशोधन प्रविधि धेरै पुरानो रहेको छ । अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको प्रयोग गरी धूवाँबाट सीधै सुकाइने हुँदा अलैंची बढी कालो हुने र धूवाँको गन्ध मिसिएको हुन्छ । यसका लागि सुधारिएको भट्टी चाहिन्छ । त्यस्तै विद्युतीय माध्यमले पनि यसलाई सुकाउन थालिएको छ । गुणस्तर कायम गर्न नसक्दा यसले उचित मूल्य पाउन सकेको छैन ।
खासमा नेपालले भारतबाहेक तेस्रो मुलुकको बजार खोज्नु जरुरी छ । भारतीय व्यापारीले नेपालबाट खरीद गरेको अलैंची ग्रेडिङ गर्नुका साथै त्यसलाई प्रशोधन गरी तेस्रो मुलुकमा निर्यात गर्ने गरेको छ । त्यसैले नेपालले आफै तेस्रो मुलुकमा निर्यातका लागि पहल थाल्नुपर्छ । अहिले केही मात्रामा खाडी मुलुकमा यसको प्रत्यक्ष निर्यात हुन थालेको छ जुन सकारात्मक छ । मूल्य अभिवृद्धि गर्नका लागि अलैंचीका तेल वा एसेन्सियल निकालेर विक्री गर्न सकिन्छ । यसो गर्दा उच्च मूल्य आउँछ र निर्यात गर्न पनि सजिलो हुन्छ । यसबाट तेल उत्पादन गरी निर्यात गर्न सकिन्छ । त्यस्तै आन्तरिक बजारमा समेत अलैंचीका उत्पादनको राम्रै बजार रहेको देखिन्छ ।
अलैंचीखेतीमा विद्यमान समस्याको समाधान गर्न सरकारी उदासीनता रहेको गुनासो अलैंची किसानको रहेको छ । खेती र बाली भित्त्याउने प्रविधि, भण्डारण, सुकाउने विधि आदिमा कमजोरी हुँदा पनि यसबाट उचित लाभ लिन नसकिएको अवस्था छ । यी पक्षमा ध्यान दिने हो भने अलैंचीबाट राम्रो लाभ लिन सकिन्छ ।