काठमाडौं । ललितपुर बगलामुखी मन्दिर नजिकै गछेँ टोलमा दिल कुमार बाराही आफ्ना सहयोगीहरुसहित रातो मच्छिन्द्रनाथको रथको पाँग्राहरु बनाउन व्यस्त देखिन्थे ।
उनी रथको काठको काम गर्ने नाइकेको रुपमा काम गरिरहेका थिए । बाराही समूदायका करिब २२ जना मानिसहरुले श्रीपञ्चमीका दिन देखि शुरु गरेको उक्त काम अब लगभग अन्तिम अवस्थामा पुग्दा १२ जनाले काम गरिहेका छन् । परम्परादेखि नै रातो मच्छिन्द्रनाथको रथमा काठको काम बाराही समूदायका मानिसहरुले गर्दै आएका छन । हरेक बाह्र बर्षमा नयाँ पाँग्रा फेर्नु पर्ने भएता पनि पोहोर साल पाँग्रा विग्रिएको कारण यस बर्ष नै नयाँ निर्माण गरिएको नाइकेको भनाइ छ । अघिल्लो पल्ट विं सं २०७२ सालमा नयाँ पाँग्रा बनाइएको थियो ।
यस बर्ष सेतो मच्छिन्द्रनाथको रथको नयाँ पाँग्राहरु पनि निर्माण भइरहेको छ । सहकालको देवताको रुपमा काठमाडौंमा सेतो मच्छिन्द्रनाथ (जनबहाः द्य) जात्रा मनाईन्छ तथा नेपालकै एक लामो जात्राको रुपमा ललितपुरको रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा मनाईन्छ ।
सेतो मच्छिन्द्रनाथको रथको पाँग्राहरु परिवर्तन गर्न बर्ष कुर्न पर्दैन । तर यो पटक परिवर्तन गरिएको पाँग्रा भने १५ बर्ष अघिको हो । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यका अनुसार पाँग्राहरु जीर्ण भएपछि गुठी संस्थान, नेपाल सरकार सबैलाई धेरै बर्ष निवेदन गरे पछि बल्ल यस बर्ष नयाँ पाँग्राहरु निर्माण गरेको हो ।
त्यस्तै, भक्तपुरको लोकन्थलीमा नीलकृष्ण बाराहीको नेतृत्वमा करिव ५ जनाको समूहमा धमाधम पाँग्राहरु निर्माण भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथको पाँग्राहरुको दाँजोमा सेतो मच्छिन्द्रनाथको रथको पाँग्राहरु अलि सानो भएकोले पनि कम जनशक्ति लागेको उनले बताए । दुवै जात्राको रथको पाँग्रा निर्माण गर्न गुठी संस्थानले निजगढ तथा अमलेखगन्जबाट ल्याइएको सादन जातको काठहरु उपलब्ध गराएको छ । आउँदो बैशाख ४ गते सेतो मच्छिन्द्रनाथको जात्रा शुरु हुँदैछ भने बैशाख २९ गतेदेखि रातो मच्छिन्द्रनाथको जात्रा शुरु हुन्छ ।