काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डको नाफा र प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा घटेको छ ।
फण्डको न्याभ असोज मसान्तमा ११ रुपैयाँ १२ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ११ रुपैयाँमा झरेको छ । त्यस्तै फण्डले असोज मसान्तमा रू. १३ करोड १७ लाख नाफा कमाएकोमा कात्तिक मसान्तमा घटेर रू. ११ करोड ६६ लाखमा झरेको छ । कात्तिक महीनामा फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
असोज मसान्तमा फण्डको जम्मा आम्दानी रू. १३ करोड ९१ लाख रहेकोमा कात्तिक मसान्तमा रू. १२ करोड ६२ लाखमा सीमित भएको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि केही घटाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब ११ करोड लगानी गरेकोमा कात्तिक मसान्तमा रू. १ अर्ब ५ करोडमा झारेको हो ।